काठमाडौं । अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष क्याप्टेन हुसेन एल मुसलाम एक दिवसिय भ्रमणका क्रममा मंगलबार नेपाल आएका छन् ।
अध्यक्ष हुसेनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे ।
अध्यक्ष हुसेनले अन्तर्राष्ट्रिय खेल परिसरमा भएको कार्यक्रममा नेपालमा स्कुलस्तरका बालबालिकादेखि नै पौडी खेलको विकास गर्नुपर्ने भन्दै नेपालको पौडी विकासमा आफुले सहयोग गर्ने बताए । उनले अर्को पटक नेपाल आउँदा नेपालको लागि पौडी खेलको विकास गर्ने प्याकेज लिएर आउने बताए ।
नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले अध्यक्ष हुसेनको आगमनले नेपालमा पौडी खेलको विकासमा सहयोग पुग्ने बताए ।
यस्तै सदस्य पारस श्रेष्ठले नेपालमा पौडीको विकासका क्रममा भएको प्रगती विवरण प्रस्तुत गरेका थिए ।
यसैक्रममा नेपाको भ्रमणमा रहेका विश्व पौडी महासंघका प्रशिक्षक सल्लाहकार एवं बिज्ञ जेम्स गिब्सनले नेपालका २० पौडी प्रशिक्षक एवं खेलाडीहरुलाई दुई दिन पौडीका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
यस्तै नेपाल भ्रमणमै रहेकी विश्व पौडी तथा रियो ओलम्पिककी स्वर्णधारी पेरनिल ब्लुमले आफ्नो अनुभव प्रदान गनुका साथै खेलाडीहरुको खेल विकासका लागि खेल प्रदर्शन गरेकी थिइन ।