काठमाडौं । नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउने भएका छन् ।
पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धितसँग छलफल गर्ने कार्यक्रम छ ।
अध्यक्ष हुसेन मंगलबार बिहान ८ बजे अवतरण काठमाडौं गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।
यसैगरी पौडी लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि सोमबार नेपाल आउँदैछन् । उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका छ ।
उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रमछ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नेछन् ।
कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए ।