काठमाडौं । सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा चार टिमले सहभागिता जनाउने भएका छन् ।
लिगमा सायम सुपर किङ्स, सायम च्यालेन्जर्स, सायम ब्लास्टर्स र सायम नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
लिग फागुनको अन्तिम साता हुने आयोजक सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । चारै टिममा सायममा बिबीए, बिसीएसआइटी र एमबिएमा अध्ययनरत विद्यार्थी रहने छन् ।
एक टिम खरिद गर्न सम्बन्धितले अधिक्तम १ लाख खर्च गर्नु पर्नेछ । खेलाडीलाई दुई समूहमा वर्गीकरण गरिने छ । ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्युनतम ५ हजार देखि अधिक्तम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्युनतम ५ हजार देखि अधिक्तम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी समावेश गर्नु पर्नेछ ।
पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी छन् ।
खेल १५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।
सायम च्यालेन्जर्सले सर्वाधिक दुई पटक उपाधि जितेको छ । च्यालेन्जर्स पहिलो र तेश्रो संस्करणको उपाधि विजेता हो । दोश्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए ।