काठमाडौं । पुष्पसदन आवसीय माध्यमिक विधालयको आयोजनामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिनका खेल सकिँदा भारतका आभनिष प्रधान र डेसियल ओङ्गमु भुटियाले अग्रता लिएका छन् ।
यु-१५ छात्रतर्फ सिक्किम चेस एसोसियसनका आभनिषले पाँचौं चरणसम्म शतप्रतिशत जित दर्ता गर्न सफल भएका छन् ।
आभनिषले पाँच अंग जोड्ने क्रममा क्रमशः आयन्स पौडेल,रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कुलका सइस घिमिरेलाई पराजित गरे ।
सोहि स्पर्धाको छात्रातर्फ भारतकी डेसियलले ४.५ अंक जोडिकी छन् । उनले चौथो चरणान हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्तसँगग बराबरी गरेकी थिइन् । अन्य चार खेलमा भने उनले जित हात पारिन् ।
यसैगरी यु-१३ छात्रतर्फ पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थीले पाँच अंक जोडेर एकल अग्रता कायम गरेका छन् ।
ओस्कारले क्रमशः हिल टाउन स्कुलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ र ज्ञानोदय बालवाटिकाका प्रविर केसीमाथि जित दर्ता गरे।
यही समूहको छात्रातर्फ बि एन एकेडेमीका विविशा तामाङले पाँच अंक जोडेर एकल अग्रता लिएकी छन् ।
यता यु-११ छात्रतर्फ सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम शैंजुले शतप्रतिशत जितसहित एकल अग्रता लिएका छन् । सोही स्पर्धामा छात्रामा मार्भलस इङलिस स्कूलका निहाना श्रेष्ठले सबै खेल आफ्नो पक्षमा पार्दै पाँच अंकका साथ एकल अग्रता बनाएकी छन् ।
प्रतियोगिताका बाँकी दुई चरणका खेल सोमबार हुनेछन् ।