खेलकुद मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं, (खेलाडी)- नेपाल राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री एकबाल मियासमक्ष राष्‍ट्रिय खेलाडी कल्याण कोषको नियमावली संसोधधन गरिएकोप्रति असन्तुष्‍टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्‍ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गत मन्त्रलयबाट तयार भएको राष्‍ट्रिय खेलकुद विकास नियमावली प्रारम्भिक मस्यौदामा राष्‍ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली २०६८ का व्यवस्था हटाइएकोमा खेलाडी संघले असन्तुष्‍टी जनाएको हो । 

खेलाडीको खेलप्रतिको निरन्तरता सुनिश्‍चित गर्ने, खेलाडीको हकहित संरक्षण गर्ने, खेलाडीको खेलप्रतिको भावनालाई जागरुक तथा उत्साहित तुल्याउँदै राष्‍ट्रप्रति समर्पण जगाउने, खेलाडी कल्याणका लागि सहयोग गर्ने, खेल क्षेत्रमा समर्पित खेलाडीलाई खेल जीवनमा आइपर्ने भौतिक तथा आर्थिक समस्यामा राहत पुर्‍याउने, राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय कीर्तिमान कायम गरेका खेलाडीका सन्तानलाई छात्रवृत्ति प्रदान गर्ने, शारिरिक रुपमा अंगभंग हुन पुगेका खेलाडीको उपचारमा सहयोग गर्ने तथा मृत्यु भएका खेलाडीको परिवारलाई सहयोग गर्नेलगायतका उद्देश्य राखेर मन्त्रालयकै नेतृत्वमा २०६८ सालमा कोष स्थापना भएको स्मरण गराउँदै संघले त्यो भावनाबाट पछिल्लो मस्यौदा भड्किएको जनाएको छ ।

स्थापनाकालको उद्देश्यभन्दा फरक खालको मस्यौदा तयार भएकाले त्यसलाई सच्याउन सुझाव सहित खेलाडी संघले ध्यानाकर्षणपत्र बुझाएको संघका अध्यक्ष दीपक श्रेष्‍ठले खेलाडीलाई जानकारी गराए । 

‘हामीले आज मन्त्रालयमै गएर मन्त्रीज्यूसँग भेट गर्‍यौं । उहाँमा खेल क्षेत्रका लागि केही गर्ने जोश र उत्साह हामीले पायौं । राजनीतिको क्षेत्रबाट आउनुभएकाले उहाँमा खेलकुदको बुझाई कम भए पनि खेल र खेलाडीका लागि आफूले सक्दो योगदान गर्ने उहाँले आश्‍वासन दिनुभएको छ,’ श्रेष्‍ठले भने ।