सहिद स्मारक लिग

बहुरूपी लिग : प्रयोग नै प्रयोग

कुनै समय त्यस्तो थियो, जतिबेला बिहानको भात खानु अगाडि नै सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल सकिसक्थे । ती सबै भाग्यमानी थिए, जसले बिहान बिहानै लिगका खेल हेरे । ती भाग्यमानी रहे, जसले लिगमा समूह विभाजन देखे अनि फाइनल हेरे । ती त झन् पो भाग्यमानी भए, जसले रेलिगेसनबिनाको लिग पनि हेरे । खासमा उनीहरू सबै अभाग्यशाली थिए । किनभने तिनले हेरेका लिग साँच्चैका लिग थिएनन्, किनभने लिग त लिगजस्तै पो हुनुपर्‍यो नि ।

नेपालमा सहिद स्मारक लिग खासमा बहुरूपी छ । यसमा यति धेरै प्रयोग भएको छ कि यसले कहिले पनि एकरूपता पाएन । नेपाली फुटबलको माथिल्लो डिभिजनले कहिले पनि एक खास स्वरूप लिन सकेन । न सहभागी टिमको संख्या नै समान रह्यो, न त प्रतियोगिता सुरु हुने मिति र समय । फेरि प्रतियोगिता कहिले डबल लिग रह्यो, कहिले सिंगल । कहिले सुपर एटको व्यवस्था गरियो भने कहिले सुपर सिक्स ।

सबैले खुबै स्वाद लिएर भन्ने गर्छन्, लिग नै कुनै पनि देशको मेरुदण्ड हो । हो नै । तर, यो ठीक ढंगको पनि हुनुपर्छ । अन्यथा लिगमात्र गर्दैमा केही हुन्न । अझ सके, लिगले समग्र फुटबललाई नै दूषित पार्न सक्छ । यस्तोमा एउटा महत्वपूर्ण प्रश्न, लिगमा एकरूपता ल्याउन बहस चाहिन्छ कि चाहिन्न ? चाहिन्छ । बहसमात्र होइन, गृहकार्य र शोध पनि उत्तिकै चाहिँदो हो । के अखिल नेपाल फुटबल संघ (एन्फा) यसका लागि तयार छ त ?

सबैभन्दा पहिले सहिद स्मारक लिग ‘ए’ डिभिजनका पुराना पाना पल्टाऔं र बुझौं, यो वास्तवमै कति धेरै एकपछि अर्को परिवर्तनबाट गुज्रिएको छ । सहिद स्मारक लिगको सबैभन्दा गर्विलो तथ्य के हो भने यो २०११ सालबाट सुरु भएको प्रतियोगिता हो । यस्तोमा यसलाई नेपाली खेलकुदकै सबैभन्दा पुरानो प्रतियोगिता त मान्न सकिन्छ । त्यसमाथि यसले कम्तीमा निरन्तरता पाएको छ । केही वर्ष हुन नसकेको अपवाद छाड्ने हो भने । प्रतिष्ठा त यसको छँदै छ ।

कुनै समय थियो, नेपाली फुटबलको सर्वोच्च निकाय नेपाल फुटबल संघ थियो । यसले २०११ सालदेखि २०३० सम्म यसको आयोजना गर्‍यो। त्यतिबेला प्रतियोगिता के कसरी भएको थियो, कसैलाई थाहा छैन । ती सबै कहिल्यै पनि थाहा पाउन नसक्ने गरेर बिलाइसके । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०३२ सालदेखि यही प्रतियोगितालाई निरन्तरता दियो । अब सुरु हुने सहिद स्मारक लिग ‘ए’ डिभिजन यसको ४३ औं संस्करण हुनेछ ।

एन्फाकै आयोजनामा भएका प्रतियोगितामा पनि हामीसँग २०४३ सालयताका तथ्यांकमात्र छन्, त्यसअगाडि के कस्तो भयो, त्यो पनि सधैंका लागि लोप भइसके । त्यसमध्ये २०४६ को लिग त्यस्तो पहिलो प्रतियोगिता थियो, जसमा सहभागी ११ टिमले एक आपसमा खेले । यो नै नेपालमा पक्कापक्की लिग सुरु भएको पहिलो संस्करण हो । प्रतियोगिता असारमा सुरु भएको थियो । त्यसपछि एकैपल्ट २०५२ सालमा लिग भयो । यो सबैभन्दा कलंकित लिग थियो ।

सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । पछि उपाधि र रेलिगेसनका लागि फरक खेल पनि भए । यो वर्ष पनि लिग असारमै सुरु भयो । तर २०५४ को लिग कात्तिकमा सुरु भयो । यसमा सहभागी टिम थिए १२ । २०५७ को लिगमा १२ टिम नै रहे, तर प्रतियोगिता भने वैशाखमा सुरु भएको थियो । ०६० को लिग पनि त्यस्तै रह्यो १२ टिमबीच । त्यतिबेला प्रतियोगिता जेठमा सुरु भयो । २०६१ देखि लिगमा थप प्रयोग सुरु भयो ।

त्यस संस्करणमा १२ टिम सहभागी थिए । त्यसमध्ये ६ टिमले सुपर सिक्स खेले । यो लिग वैशाखमा सुरु भयो । २०६२ को लिगमा पहिलोपल्ट डबल लिगको प्रयोग भयो, जसमा एक टिमले अर्को टिमसँग खेल्यो । सहभागी टिमको कुल संख्या १५ थियो अनि पहिलोपल्ट दुई टिम रेलिगेसनमा परेका थिए । त्यो प्रतियोगिता भने भदौमा सुरु भएको थियो । २०६३ को संस्करण पनि डबल लिग नै रह्यो । सहभागी संख्या भने घटेर १४ पुग्यो । प्रतियोगिता आफै भने कात्तिकमा सुरु भयो ।

अझै २०६६–०६७ को लिग १२ टिममै सीमित रह्यो । यो पनि डबल लिग नै रह्यो । प्रतियोगिता भने सुरु भएको थियो फागुनमा । यही लिग २०६८ मा हुँदा सहभागी संख्या बढेर १८ पुग्यो । यति धेरै टिमले खेलेको यो नै एकमात्र लिग रह्यो । तर प्रतियोगिता आफै डबल लिग रहेन । एकले अर्कोसँग एकैपल्ट मात्र खेल्यो । धेरै टिम भएपछि रेलिगेसन पर्ने टिम पनि धेरै थिए । चार टिम तल्लो डिभिजनमा झरे । प्रतियोगिता भने वैशाखबाट सुरु भएको थियो ।

२०६९ को लिगमा १६ टिम रहे भने २०७० मा १३ । यसमध्ये २०६९ को संस्करणमा सुपर एटको आयोजना गरिएको थियो । पछि २०७० मा आइपुग्दा सुपर सिक्सको नियम आयो । एकपल्ट तीन टिम रेलिगेसनमा परे । अर्कोपल्ट दुईमात्रै । २०६९ को लिग मंसिरदेखि सुरु भयो, २०७० को लिग पुसमा । २०७५ को लिगमा सहभागी संख्या १४ टिम थिए, यो फेरि सिंगल लिग भयो । असोजमा प्रतियोगिता सुरु भयो । यसमा थिएन  रेलिगेसनकै व्यवस्था । त्यसैले यो सबैभन्दा कलंकित लिग बन्यो ।

खालि अन्तिम स्थानमा रहेका दुई टिमको अंक भने अर्को संस्करणका लागि भनेर काटियो । २०७६ को लिग मंसिरदेखि सुरु भएको थियो । यसमा १४ टिम सहभागी थिए । एकै टिममात्र रेलिगेसनमा पर्‍यो अनि यो सिंगल लिग नै रह्यो । 

अब सुरु हुने लिग सिंगल हुनेछ । १४ टिमले प्रतिस्पर्धा गर्नेछन् अनि दुई टिम रेलिगेसनमा पर्नेछ । नेपाली लिग संरचनामा विविधता छैन र भन्या ? तर नेपाली फुटबललाई चाहिएको लिग त यस्तो होइन नै ।

यस्तोमा एन्फालाई खबरदारी गर्नैपर्छ । प्रश्न गर्नुपर्छ, के सहिद स्मारक लिग ‘ए’ डिभिजन प्रत्येक वर्ष एकै समय सुरु हुन सक्दैन ? सहभागी संख्या निश्चित गर्न सकिन्न  ? डबल लिग, सिंगल लिग, सुपर एट या सुपर सिक्स, कुन ठीक हो त, निर्णय गर्नुपर्दैन त ? रेलिगेसनमा पर्ने टिमको संख्या पनि निश्चित हुनुपर्ने होइन र ? प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?