सहिद स्मारक लिग

लिगलाई एउटै चेनमा ल्याउन ‘यसो गरे कसो होला ?’

कुनै पनि देशको फुटबलमा लिगको भूमिका मेरुदण्डको रूपमा हुने गर्छ । त्यही लिगलाई केन्द्रमा राखेर समग्र फुटबल संरचना तयार गरिन्छ । हाम्रो देशमा पनि शुक्रबार सहिद स्मारक लिगको शीर्ष डिभिजन सुरु भएको छ ।

शीर्ष डिभिजनको लिग दशरथ रंगशालामा सुरु हुँदा स्वाभाविक रूपमा नेपाली फुटबलको माहौल तातेको छ । लिग र फुटबलका विषयमा चिया पसलदेखि नीति निर्माणको तहसम्म बहस हुन थालेका छन् । देशको सबैभन्दा लोकप्रिय खेलको ठूलो प्रतियोगिता भइरहँदा यस्तो चर्चा स्वाभाविक हो ।

फेरि पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लिग संसारकै सर्वोत्कृष्ट स्वरुपमा गरिरहेझै गरी आफैंमा मख्ख परिरहँदा यसको स्वरुपबारे विभिन्न कोणबाट बहस जारी छ । कसैले यस्तो लिगले देशको फुटबललाई कहीँ पनि पुर्याउँदैन, यो समय र लगानीको बर्बादीमात्र हो भनिरहँदा कसैले भने नेपालमा योभन्दा बृहत स्वरुपको लिग सम्भव छैन भनेर तर्क गरिरहेका छन् ।

खासमा नेपालको बहुरूपी लिग र अस्तव्यस्त फुटबल संरचनाका कारण देशभित्र हामीले एउटै चेनमा फुटबल खेल्न सकिरहेका छैनौं । जिल्लाले आफ्नो हिसाबमा लिग गरिरहेको छ । जिल्ला लिग समापनपछि त्यहाँका टिमले कहाँ गएर खेल्ने भन्ने नै टुंगो छैन । यता केन्द्रमा पहिले देखि रहँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन र ‘सी’ डिभिजन छनोटको आफ्नै संरचना छ ।

वास्तवमा लिग कस्तो हुनुपर्छ भन्नेमा आ–आफ्नै तर्क र विश्लेषण हुन सक्छन् । विभिन्न विकसित देशहरूले पनि गर्दै आएका फरक खालका अभ्यासले यही तर्क ठीक भनेर ठोकुवा गर्न नसकिएला । यहाँ त्यसो गर्न खोजिएको पनि होइन । यहाँ त लिग र समग्र नेपाली फुटबलको संरचनाबारे एउटा प्रस्ताव गर्न खोजिएको छ ।

खासमा नेपालको बहुरूपी लिग र अस्तव्यस्त फुटबल संरचनाका कारण देशभित्र हामीले एउटै चेनमा फुटबल खेल्न सकिरहेका छैनौं । जिल्लाले आफ्नो हिसाबमा लिग गरिरहेको छ । जिल्ला लिग समापनपछि त्यहाँका टिमले कहाँ गएर खेल्ने भन्ने नै टुंगो छैन । यता केन्द्रमा पहिले देखि रहँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन र ‘सी’ डिभिजन छनोटको आफ्नै संरचना छ ।

साँचो अर्थमा फुटबल विकास गर्ने हो भने सबैखाले लिगलाई एउटै चेनमा ल्याउनुपर्छ । जिल्लाले जिल्ला लिग गर्‍यो, केन्द्रले आफ्नै लिग गर्‍यो । यस्तो तरिकाले कतै पुगिँदैन । जुन जिल्ला लिगलाई छनोट चरणको रूपमा खेलाइनु पर्दछ । अहिले ‘सी’ डिभिजनको छनोट भनेर काठमाडौंमा गराइने छनोट प्रतियोगितालाई जिल्लामा सार्नुपर्दछ । त्यसो हुँदा फुटबलको आधार भूमि देशव्यापी बन्न जान्छ ।

जिल्ला लिगलाई छनोटको माध्यम बनाउँदा च्याम्पियन भएर आउनेले ‘सी’ डिभिजनको छनोटमा प्रतिस्पर्धा गर्ने व्यवस्था ठीक हुनसक्छ । नेपालमा ७७ जिल्लामध्ये ४८ जिल्लामा फुटबल संघ छ । जुन जिल्लामा जिल्ला फुटबल संघ छैन, उनीहरूलाई पायक पर्ने जिल्लामा छनोट खेल खेलाउने वातावरणको निर्माण गर्नुपर्छ । यसो गरेमा ‘सी’ डिभिजनको छनोट खेल्ने टोली ४८ हुनेछ ।

यसरी लिगका लागि टोली छनोट गर्दा उनीहरूबाट पनि सहिद स्मारक लिगलाई अपनत्व हुन्छ । अहिलेको अवस्थामा जिल्ला र केन्द्रबीच जोडिन नसकेको पुलको काम यो नयाँ सोचले गर्नेछ । होइन भने त जिल्ला लिग हुन्छ, त्यहाँको विजेताले कहाँ खेल्ने त ? अर्कोेतर्फ ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग पनि आफ्नै ढंगले अघि बढ्छ ।

जिल्लाका क्लब र केन्द्रका क्लबबीच विवादको जड नै यही हो । क्लबको आरोप जिल्ला फुटबल संघले केही गरेन भन्ने हुन्छ र जिल्ला फुटबल संघको आरोप क्लब आफ्नै तरिकाले चलेर जिल्लालाई बेवास्ता गर्‍यो भन्ने रहेको छ । क्लबको अर्को आरोप भनेको जिल्लाले झारा टार्ने हिसाबले मात्र प्रतियोगिताहरू सञ्चालन गरिरहेका छन् भन्ने छ । क्लब र जिल्ला फुटबल संघबीच तालमेलको पूर्ण अभाव छ ।

लिग जुनसुकै देशमा फुटबल विकासको मेरुदण्ड हो । यहाँ त हामी मेरुदण्डमै विवाद भएर बसेका छौैं । त्यसैले जबसम्म हामीले एउटै चेनमा बसेर लिगको संरचना अघि बढाउदैनौं, तबसम्म जिल्ला र त्यहाँका क्लब तथा केन्द्रका क्लबबीच ठूलो खाडल रहिरहने छ ।

जिल्ला लिगको च्याम्पियनलाई क्वालिफायर खेलाउँदा सम्बन्धित जिल्लाबाट एउटामात्रै टोली आउँदा ‘सी’ डिभिजन छनोट थप व्यवस्थित र निश्चित हुन्छ । त्यसो हुँदा काठमाडौंबाट ‘सी’ डिभिजन छनोटमा एउटामात्र क्लब आउँछ । सम्रगमा उपत्यकाबाट तीन क्लब आउँछन् । यसले गर्दा जिल्लाका कुनै पनि क्लबले छनोटको अवसर गुमाउँदैनन् ।

ए, बी र सी डिभिजन लिगको वर्तमान संरचनामा रातारात परिवर्तन सम्भव छैन । तर, भएकोलाई नभत्काई परिमार्जन गर्दै अघि बढ्न सकिन्छ । लिगमा अहिले १४ क्लब छन् । त्यसमा अब बर्सेनि कति क्लब झार्ने र कति क्लबलाई बढुवा गर्ने भन्ने स्पष्ट निर्धारण हुनुपर्‍यो । यहाँ त मनलाग्यो भने रेलिगेसनबिना नै लिग हुन्छ । कुनै वर्ष एउटा क्लब घटुवा हुन्छ र एउटा क्लब बढुवा हुन्छ । कहिले दुईटा क्लब झर्छन् र दुई क्लब माथि उक्लिन्छन् । निश्चित केही पनि छैन । भद्रगोल अवस्था छ ।

जिल्ला लिगको च्याम्पियनलाई क्वालिफायर खेलाउँदा सम्बन्धित जिल्लाबाट एउटामात्रै टोली आउँदा ‘सी’ डिभिजन छनोट थप व्यवस्थित र निश्चित हुन्छ । त्यसो हुँदा काठमाडौंबाट ‘सी’ डिभिजन छनोटमा एउटामात्र क्लब आउँछ । सम्रगमा उपत्यकाबाट तीन क्लब आउँछन् । यसले गर्दा जिल्लाका कुनै पनि क्लबले छनोटको अवसर गुमाउँदैनन् । यसले तल्लो तहबाटै आधार बनाउँछ ।

अहिले क्लबमा पनि एउटा समस्या छ । जिल्ला फुटबल संघले गर्ने गतिविधिमा भाग नलिने क्लबहरू एन्फाले गर्ने ‘सी’ डिभिजन छनोट खेल्न हानथाप गरिरहेका हुन्छन् । यसले एकातिर फुटबललाई केन्द्रीकृत बनाएको छ भने अर्कोतिर जिल्ला फुटबल संघहरूलाई कमजोर पारिरहेको हुन्छ । जिल्लाबाट आउने व्यवस्था गर्न सकियो भने फुटबलको प्रशासनिक चेन बलियो हुन्छ र जिल्लाबाट पनि छनोट प्रतियोगितामा बलिया टिम आउँछन् ।

नेपालको फुटबल इतिहास त्यति लामो त छैन । यही ७०/८० वर्ष भयो होला । १९९१ मा जुद्ध शम्शेरको पालामा बल्ल नेपालमा फुटबल भित्रिएको हो । उनका नाति नर शम्शेरलाई हामीले फुटबलको पिता मान्ने गरेका छौ ।

राणाकालमा फुटबल सबैको पुहँचमा थिएन । यहाँ दरबार–दरबारमा मात्र फुटबल खेलिन्थ्यो । त्यो बेलादेखि नै जे जति संरचना थिए, ती सबै काठमाडौंमा नै भएकाले पहिल्यैदेखि नै फुटबल काठमाडौं केन्द्रित नै भयो । यहाँ पनि एन्फाको केन्द्रीय कार्यलय काठमाडौंमा छ । केन्द्रीय कार्यालयले समन्वय गर्ने हो । यसकै आधारमा फुटबल काठमाडौंमा मात्र केन्द्रित भयो भन्न मिल्दैन । तर गतिविधिले त्यही देखाउनु चाहिँ पक्कै पनि सुखद कुरा होइन ।

लिग कमिटीका संयोजक विज्ञानराज शर्माले केही दिनअघि खेलाडी डटकममा ‘वाइल्ड कार्ड इन्ट्री’ दिएर बाहिरका क्लब ल्याउनुपर्ने तर्क राख्नुभएको छ । जुन अहिले फुटबल वृत्तमा चर्चाको अर्कै विषय बनेको छ । उहाँको प्रस्ताव त्यति सान्दर्भिक पक्कै पनि होइन । यसमा फरक मत राख्न पाइन्छ । विगतमा राष्ट्रिय खेलकुद परिषदमा कुनै क्लब वा संघ दर्ता गर्नुपर्‍यो भने पहिला उनीहरूलाई गतिविधि गरेर देखाउनुपर्थ्यो । जिल्ला र अञ्चलले सिफारिस गरेपछि मात्र दर्ताको प्रमाणपत्र पाइन्थ्यो । अहिले ‘ए’ डिभिजन लिगका जुन क्लबहरू छन्, ती सबै यही प्रक्रियाबाट आएका हुन् ।

नेपालमा पनि लिग खेल्ने प्रक्रिया छ, त्यो चरण पार गरेर आउनुपर्‍यो । एन्फाले सबैका लागि छनोट प्रक्रिया खुला गरेको छ । क्षमता भएका क्लबहरू नै छनोट चरण पार गरेर आउने हुन् । फुटबल विकास रातारात हुने होइन । यसका लागि समय चाहिन्छ ।

अहिले त पहिले नै क्लब दर्ता भएर आउनुपर्छ, त्यसपछि मात्र प्रतियोगितामा सहभागिता जनाउन पाइन्छ । ‘सी’ डिभिजन छनोट छ, ‘सी’ डिभिजन छ, ‘बी’ डिभिजन छ अनि ‘ए’ डिभिजन छ । यसमा पनि निश्चित प्रक्रिया त छ । पैसा भयो भन्दैमा कुनै क्लबलाई सोझै ‘ए’ डिभिजनमा छनोट त गर्नुुभएन नि । पैसाले मात्र हुने हो भने त धनी देशले सोझै विश्वकप खेल्न पाउनुपर्ने हो । तर पाइरहेका छैनन् । 
विश्वकप छनोटको पनि प्रक्रिया छ । त्यो प्रक्रिया पार गरेर आउनुपर्‍यो । हो, नेपालमा पनि लिग खेल्ने प्रक्रिया छ, त्यो चरण पार गरेर आउनुप¥यो । एन्फाले सबैका लागि छनोट प्रक्रिया खुला गरेको छ । क्षमता भएका क्लबहरू नै छनोट चरण पार गरेर आउने हुन् । फुटबल विकास रातारात हुने होइन । यसका लागि समय चाहिन्छ ।

क्लब कार्यालयको संरचना राम्रो छ, रंगशालाको संरचना राम्रो छ । १५ खेलाडीलाई प्रशिक्षण दिइरहेको छ भन्दैमा त्यसलाई वाइल्ड कार्ड इन्ट्री दिने हो भने नेपालका सबै धनाढ्यको एउटा–एउटा क्लब ‘ए’ डिभिजनमा होला । अनि यहाँको फुटबल कहाँ पुग्ला भन्ने चिन्ता पैदा हुन्छ ।

हामीकहाँ फुटबललाई व्यावसायिक बनाउनुपर्छ भन्ने नारा लोकप्रिय छ । तर त्यसको कार्यान्वयनमा कोही गम्भीर देखिँदैनन् । यहाँ फुटबलको व्यावसायीकरणलाई खेलाडीले पाउने तलबमा मात्र जोडेर हेरिन्छ । खेलाडीमात्र व्यावसायिक भएर समग्रमा फुटबल व्यावसायिक हुने होइन । त्यसका लागि सबैभन्दा पहिला खेलाडीलाई तलब दिने क्लब व्यावसायिक हुनुपर्छ । क्लब र खेलाडी त एउटै रथका दुई पांग्रा हुन् । दुवैलाई व्यावसायिक बनाउँदै सँगसँगै अघि बढाउनुपर्छ । यो वातावरण बनाउने काम एन्फा र लिग कमिटीको हो । तर त्यसतर्फ केही सिन्को नभाँचिकन वाइल्ड कार्ड इन्ट्रीको हचुवा कुरा गरेर हुँदैन ।

यस सिजनबाट सप्ताहन्त (विकेन्ड) मा मात्र लिग खेलाउने तालिका आएको छ । यो निकै सकारात्मक कदम हो । फिफाले नै एउटा खेलपछि खेलाडीले कम्तीमा ४८ घण्टा आराम पाउनुपर्छ भनेको छ । खेलाडीलाई लगातारको खेल तालिकापछि चोटबाट बचाउन पनि विकेन्ड लिग जरुरी थियो ।  खेलाडीहरूको वास्तविक परीक्षण यो लिगले गर्छ । विगमा लगातार खेल राखेर लिग सकाउने हतारो हुन्थ्यो । अहिले विकेन्डमा गर्न लागेको लिग सबै पक्षबाट राम्रो छ । तर दोहोरो लिग यसपालि पनि गर्न नसक्नु चाहिँ एन्फाको अकर्मण्यता हो ।

एन्फाले यसपल्टबाट लिगलाई जिल्ला बाहिर लाने भनेको छ । मनाङ मस्र्याङ्दी क्लबले पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाएकाले लिगका केही खेलहरू त्यहाँ गराउन प्रस्ताव गरेको छ । मनाङले आफ्नो होम गेम त्यहाँ गर्छु भनेको छ ,त्यो होम गेम होइन । किनभने मनाङको दर्ता त काठमाडौंमा छ कि त स्थानान्तरणको प्रमाणपत्र लिनुपर्‍यो ।

होम एन्ड अवे लिग गर्नसके त्यो धेरै राम्रो हो । पूर्ण रूपमा होम एन्ड अवेको अवधारणामा लिग गर्न नसकेसम्म व्यावसायिकताको नारा एउटा सफेद झुटबाहेक केही हुने छैन । होम एन्ड अवेको अवधारणा नै त्यहाँबाट जम्मा हुने रकमबाट क्लबले आम्दानी गर्न सकोस् भनेर हो । तर यहाँ त एन्फाले क्लबको आम्दानीलाई आफ्नो आम्दानीको स्रोत बनाइरहेको छ ।

मनाङको घरेलु मैदानका रूपमा रहेको पोखरामा लिगका खेलहरू लैजाँदा १३ टोली लैजानुपर्‍यो । यसले लिगको आर्थिक भार थप बढाउने म देख्छु ।

होम एन्ड अवे लिग गर्नसके त्यो धेरै राम्रो हो । पूर्ण रूपमा होम एन्ड अवेको अवधारणामा लिग गर्न नसकेसम्म व्यावसायिकताको नारा एउटा सफेद झुटबाहेक केही हुने छैन । होम एन्ड अवेको अवधारणा नै त्यहाँबाट जम्मा हुने रकमबाट क्लबले आम्दानी गर्न सकोस् भनेर हो । तर यहाँ त एन्फाले क्लबको आम्दानीलाई आफ्नो आम्दानीको स्रोत बनाइरहेको छ ।

क्लबहरूले पनि लिगका क्रममा उठ्ने गेटमनीमा ध्यान दिइरहेका छैनन् । एन्फासँग लिगको तयारी खर्च यति देऊ भन्दै माग्छन् । आफ्नो आम्दानीको स्रोत थाहा हुँदाहुँदै केही नभन्ने अनि लिगको तयारीका लागि हात मात्र फिँजाउने ?

(ललितपुर जिल्ला फुटबल संघ तथा ‘बी’ डिभिजन लिगको टोली झम्सीखेल युथ क्लबका अध्यक्ष थापासँग खेलाडी डटकमका आशिष पुडासैनीले गरेको कुराकानीमा आधारित)