उसु खेलाडीलाई महासंघको राहत 

काठमाडौं, (खेलाडी)- नेपाल उसु महासंघले कोभिड १९ को महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । 

महासंघका पदाधिकारीले काठमाडौं उपत्यकाका मनमैजु, जावलाखेल र बौद्ध पुगेर समस्यामा परेका आफ्ना खेलाडीलाई मंगलबार खाद्यान्नलगायतका राहत सामग्री वितरण गरे ।

महासंघका महासचिव लाक्पाछिरिङ लामाका पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ । राहत वितरणमा महासचिव लामासँगै कोषाध्यक्ष लानम लामा र सहकोषाध्यक्ष नारायण गिरीले संयोजन गरेका थिए । 

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री वितरण गरिएको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए । यस्तै उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङबाट ६० हजार, उपाध्यक्ष हरि थापाबाट १० हजार, उपाध्यक्ष दुष्यन्त बश्‍नेतबाट १० हजार, कोषाध्यक्ष लानम लामाबाट पाँच हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ । 

महासंघले आगामी दिनमा पनि राहत वितरण निरन्तर रुपमा सञ्‍चालन गर्न सेवा राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकमबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई राहत वितरण गर्ने योजना महासंघको छ ।