तेक्वान्दाे

वीरेन्द्र सिल्ड र तेक्वान्दो क्विन संगीना

वास्तवमा विद्यालय खेलकुद देशका लागि ठूला स्टार खेलाडी दिने मुख्य थलो हो । नेपाली खेलकुदकी शिखर महिला खेलाडी तेक्वान्दोकी संगीना वैद्यको करियर सुरुआत हेर्ने हो भने यही तथ्य प्रमाणित हुन्छ ।

तेक्वान्दो क्विन संगीना नेपाली खेलकुदकी सबैभन्दा सफल महिला खेलाडी हो भन्न कन्जुस्याइँ गर्नुपर्दैन । उनी त त्योभन्दा बढी नयाँ पुस्ताका लागि आदर्श खेलाडी पनि हुन् । उनकै पथ पछ्याउने क्रममा दीपक विष्टले ओलम्पिक छनोट हुने दोस्रो खेलाडीको कीर्तिमान बनाए ।

संगीनाबाट सुरु भएको छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपाली खेलाडीको यात्रा दीपकसम्म पुगेपछि अरूले त्यसलाई निरन्तरता दिन सकेका छैनन् ।

हो, नुवाकोटको त्रिशूलीबजारकी संगीनाको खेल करियरले स्कुले जीवनमै आकार लिन थालेको थियो । त्यतिबेला अहिलेजस्तो स्कुले बालबालिकाका लागि अस्तव्यस्त खेलकुद थिएन । थियो त, राज्यकै प्रत्यक्ष निगरानीमा हुने एउटा व्यवस्थित प्रतियोतिगा वीरेन्द्र सिल्ड । जहाँ स्कुले बालबालिकाहरू एथलेटिक्सका विभिन्न विधादेखि भलिबलसम्म प्रतिस्पर्धामा उत्रन्थे । एकै विद्यार्थी अनेकन खेलमा सहभागी हुन्थे ।

‘करियरबारे सोच्ने परिपक्वता कहाँ हुनु भर्खर स्कुल पढ्दै गरेका बालबालिकामा । त्यसैले हामी भ्याएसम्म सबै खेलमा सहभागी हुन्थ्यौं । वीरेन्द्र सिल्ड त्यो बेला एउटा गजबको रमाइलो मेला जस्तो लाग्थ्यो,’ तेक्वान्दोकी तारा संगीना सम्झिन्छन्, ‘मैले पनि वीरेन्द्र सिल्डमा दौडका सबै इभेन्ट्स र भलिबलमा पनि सहभागिता जनाएँ । भलिबलको जिल्लास्तर टिममा थिएँ ।’

सात दिदीबहिनी र एक भाइमध्ये उनी बीचकी थिइन् । घरको काममा उनले सहयोग गर्नुपर्दैनथ्यो । त्यसैले राम्रोसँग पढ्ने र खेल्ने स्वतन्त्रता उनलाई थियो । त्यही स्वतन्त्रताबीच उनी खेलक्षेत्रमा फक्रन पाइन् ।

‘स्कुलबाट आउनासाथ झोला बोकेर खेल्न जान्थें । जुन खेल खेल्न पायो त्यही खेल्थें । साँझ परेपछि मलाई खोज्न दिदीहरू नै आउनुपथ्र्यो,’ संगीनाले बाल्यकाल स्मरण गरिन् ।

त्रिशूलीमै जन्मिएकी संगीनाले स्कुलजीवनमा खेलेका बिरलै खेलमा मात्र असफलताको मुख देख्नुपर्यो । त्यसो त पूरा करियरमै संगीना सधैं सफलताको पर्याय बनिरहिन् ।

तर, पढाइमा औसतमात्र भएकीले उनलाई वीरेन्द्र सिल्ड आयोजना हुँदा पर्व आएजस्तै हुन्थ्यो । उनी खेलकै कारण स्थानीयस्तरमा सेलिब्रिटीकै हैसियतमा थिइन् । नहुनु पनि किन ? प्रत्येक वर्ष पाँच/सात वटा स्वर्ण पदक उनको पोल्टामा जाने गर्थ्यो ।

‘वीरेन्द्र सिल्ड पर्वजस्तै हुन्थ्यो । जहाँ म प्रायः खेल खेल्थें । दौडका सबै विधामा स्वर्ण जित्थें । फस्टब्वाइभन्दा मलाई चिन्ने धेरै थिएँ,’ संगीनाले सुनाइन्, ‘खेलमा राम्रो भएकाले सबैले माया गर्थे । पढ्न र गृहकार्यमा गर्न सहयोग गर्थे । त्यसले पनि मलाई ठूलो हौसला मिल्थ्यो । त्यहींबाट ‘खेलकुद केही हो है’ भन्ने मनमा पर्यो‍ ।’

उनमा फुटबल र भलिबलप्रति पनि उत्तिकै लगाव थियो । जिल्लास्तरबाट यी दुवैको प्रतिनिधित्व उनले गरेकी छन् । त्रिशूलीका खाली मैदानमा उनी केटाहरूसँगै फुटबलमा भिड्थिन् । कक फाइटमा पनि उनी उस्तै जब्बर थिइन् ।

एकदिन एकजना दाइ पर्नेको घरमा उनले विश्व चर्चित मार्सल आर्ट्स खेलाडी ब्रुस लीको फिल्म हेरिन् । जसले उनलाई मार्सल आर्टसप्रति मोह जगायो । ब्रुस लीको फाइट, लचकता, जम्पिङ र एक्सन उनलाई खुबै मनपर्यो‍ ।

तर, त्रिशूलीमा आफूले चाहेजस्तो मार्सल आर्टस खेल्ने अवसर थिएन । २०४७ सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि काठमाडौं आइन् । पब्लिक युथ क्याम्पसमा भर्ना भए पनि हरेक बिहानी उनको गन्तव्य भने दशरथ रंगशाला हुन थाल्यो ।



त्यसपछि त उनले कलेज नै छाडेर तेक्वान्दो रोजिन् । कलेज जाँदा दैनिकजसो उनी रंगशालामा खेल हेर्न जान्थिन् । खेल्न थालेको ६ महिनामा नै उनले राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

‘रंगशाला खोज्दै गएको क्षण अझै ताजै छ । मार्सल आट्र्समा धेरै विधा हुन्छ भन्ने त्यहीं गएर मात्र थाहा पाएँ । त्यतिबेला रंगशालामा तेक्वान्दो खेल भइरहेको थियो । यही खेल नै मेरा लागि ठीक हुन्छ भन्ने निर्णय गरेर फारम लिइहालें,’ संगीना आफ्ना सुरुआती दिन सम्झन्छिन् ।

तेक्वान्दोमा संगीनाका पहिलो प्रशिक्षक थिए, अमिर श्रेष्ठ । ६ महिनाजति खेलेपछि धनगढीमा २०४८ सालमा राष्ट्रिय प्रतियोगितामा भाग लिइन्, जहाँ उनले पहिलो सफलता पाइन् ।

‘मेरो पहिलो खेल भएकाले च्याम्पियन हुन्छु भन्ने थिएन । तर, आफ्नो स्वाभाविक खेल खेल्दा मैले सफलता पाएँ । लगत्तै राष्ट्रिय टिममा परें । एक वर्षमा आसाममा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएपछि सबै गुरुको नजरमा परें । जहाँबाट मेरो खेलले नयाँ उचाइ लियो,’ विगत सम्झँदा संगीना रोमाञ्चित हुन्छिन् ।

थोरै समयमा नै सफलताका सिँढीहरू चढ्न सुरु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसको वर्ष दिन सेरोफेरोमा नै लगातार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भए । एसियन च्याम्पियनसिपलगायतमा उनको प्रदर्शनले प्रशिक्षकलाई पनि आशा दिलायो । जुन आशालाई उनले केही हदसम्म प्रमाणित पनि गरिदिइन् ।

उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । वाइल्डकार्डकै भरमा विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा सहभागिता जनाउँदै आएको नेपालको इतिहास सन् २००४ को एथेन्स ओलम्पिकमा यिनै साहसी महिलाले परिवर्तन गरिन् ।

उनको यो सफलतामा आमाबुबा र दिदीबिहिनीको साथ उत्तिकै थियो । उनी आफैं भन्छिन्, ‘मेरो परिवारको साथ थिएन भने मैले केही गर्न सक्दैनथें । मेरो सफलताका पछाडि उहाँहरूको भरोसा र साथ नै हो । कुनै पनि खेलाडीले अभिभावकको साथविना सफलता पाउने कुरा बिरलै हुने गर्छ ।’

एथेन्स ओलम्पिकअघि नेपाली खेलाडीले कहिल्यै पनि छनोट पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेका थिएनन् । वाइल्डकार्ड नै ओलम्पिकमा नेपालको झण्डा फहराउने एकमात्र आधार थियो । तर, एथेन्स ओलम्पिकमा भने नेपालले त्यो सहारा लिनुपरेन ।

एसिया र ओसियाना क्षेत्रका लागि थाइल्यान्डको बैंककमा सम्पन्न छनोटमा संगीनाले अनुमानविपरीत विजय हासिल गरिन् । छनोट भएरै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बनिन् । त्यसअघि नै उनले हङकङमा सम्पन्न एसियाली च्याम्पियनसिपमा कांस्य पदक पनि जितिसकेकी थिइन् ।

‘एसियन च्याम्पियनसिपमा पदक जितेलगत्तै ओलम्पिक सपना बुन्न थालें । तर, त्यसै समयदेखि छनोट भएर ओलम्पिक खेल्नुपर्ने अवस्था भयो । तेक्वान्दोमा एसियाली राष्ट्र नै पावरहाउस थिए । त्यसैले कठिन नै थियो,’ संगीनाले भनिन्, ‘त्यही समय दुर्घटनामा परेर घुँडा फ्याक्चर भयो । घुँडामा स्टिल राखियो । साग (तत्कालीन साफ) को पनि तयारी थियो ।’

तर, राइट लेगमा स्टिल राखिए पनि एउटा खुट्टाकै भरमा उनले अभ्यास गरिराखिन् । दुखेको खुट्टा लुकाउँदै खेलिन् र देशलाई पदक पनि दिलाइन् । सन् १९९९ को आठौं सागमा तेक्वान्दोले डेब्यु पाउँदा उनले स्वर्ण पदक जितिन् । लगत्तै ओलम्पिकका लागि विश्व च्याम्पियनसिप छनोट भए पनि उनी घुँडाको चोटका कारण सहभागी हुन पाइनन् ।

एसियाली क्षेत्रबाट छनोटको तयारी गरिन् र जहाँ उनले सफलता पाइन् । ‘यो पटक मैले सकिनँ भने खेलमा फर्कन सक्दिनँ भन्ने थियो । त्यसैले विश्व प्रतिस्पर्धा छाडेर एसिया छनोटको माध्यम पर्खिराखें । मेरो दुखाइ निकै थियो । तर, दक्षिण कोरियामा आर्मी क्याम्पभित्र बसेर बैंककको तयारी ग¥यौं । जहाँ मैले सुखद नतिजा पनि पाएँ । म छनोट भएर ओलम्पिक खेल्ने पहिलो खेलाडी बनेको भन्ने कुरा त्यहीं थाहा पाएँ,’ संगीनाले भनिन् ।

सन् २००४ को फेब्रुअरीमा ओलम्पिकको टिकट काटेकी संगीनाले त्यसको ६ महिनापछि एथेन्समा पदक जित्ने लक्ष्य भने पूरा गर्न सकिनन् । ‘ओलम्पिक प्रतिस्पर्धा भने त्यति राम्रो गर्न सकिनँ,’ संगीनालाई अझै पनि त्यो अवसर चुकेकोमा दुःख लाग्छ ।

दुर्घटनाकै कारण १३ औं एसियाली खेलकुद खेल्न नपाउनु उनको खेलजीवनकै सबैभन्दा ठूलो दुर्भाग्य रह्यो । आफ्नो तौल समूहमा उनी उत्कृष्ट खेलाडी थिइन् । तर, दुर्घटनाका कारण सहभागिताबाट वञ्चित हुनुप¥यो । जहाँ सविता राजभण्डारीले रजत पदक जितिन् ।

त्यो पदक नै एसियाडमा नेपालले अहिलेसम्म प्राप्त गरेको व्यक्तिगत ठूलो सफलताको रूपमा विद्यमान छ । संगीनाले सागमा तीन पदक जितेकी छन् । इस्लामाबादमा सम्पन्न नवौं संस्करणमा पनि उनले स्वर्ण पदक जितिन् । तर, श्रीलंकाको कोलम्बोमा सम्पन्न सागमा भने उनी कांस्य पदकमै सीमित भइन् र स्वर्णको ह्याट्रिक गर्ने अवसरबाट चुकिन् ।

एसियन च्याम्पियनसिपमा पदक जितेपछि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उनले जागिर पाइन् । सम्मानस्वरूप संगीनालाई अधिकृतस्तर प्रशिक्षकको जागिर दिइएको थियो ।

‘त्यो जागिरले गर्दा नै ढुक्कसँग खेल्ने मनोबल बढायो । सबै खेलाडीको जीवन सुरक्षा हुने खालको वातावरण सिर्जना हुन सके नेपाली खेलाडीमा धेरै क्षमता छ । उनीहरूलाई पर्याप्त एक्सपोजर र खेलजीवन पछिको सुरक्षा आवश्यक छ,’ संगीना भन्छिन् ।

पछिल्ला केही दशकयता नेपाली तेक्वान्दोले एसियाली र अन्य प्रतिस्पर्धामा आशातीत प्रदर्शन गर्न नसक्दा उनलाई पनि निकै चिन्ता लागेको छ । नेपालको तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खस्किँदो प्रदर्शनप्रति उनी पनि जानकार छिन् ।

‘हाम्रो लेभल उस्तै हो । तर, अन्य देशले चाहिँ धेरै विकास गरेका छन् । हाम्रा खेलाडीले पनि खेल्ने समयमा दिमाग प्रयोग गर्न चुकिरहेका छन् । त्यो देख्दा चिन्ता लाग्छ । तर, हाम्रा खेलाडीमा धेरै क्षमता छ भन्नेमा चाहिँ ढुक्क छु,’ उनी भन्छिन् ।  

सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली तेक्वान्दो टोलीमा संगीना प्रशिक्षकको भूमिकामा थिइन् । १३औं सागमा नेपाली तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदक जित्यो, जहाँ उनको प्रत्यक्ष भूमिका पनि रह्यो ।