काठमाडौं । भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
कतार फेन्सिङ फेडेरेसनको आयोजनामा प्रतियोगिता जनवरी २४ देखि २६ सम्म दोहामा हुँदैछ । भीष्मराज र सागरले व्यक्तिगत इपी विधातर्फ प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा करिब ४३ राष्ट्रका २४७ खेलाडीले सहभागिता जनाउने छन् । दुवै खेलाडी बुधबार नै कतार प्रस्थान गरिसकेका छन् । उनीहरूलाई लायन्स क्लब काठमाडौं साया र लियो क्लब अफ काठमाडौं सायाले बिदाइ गरेका थिए ।
लायन्स क्लब काठमाडौं सायाका अध्यक्ष रुकृत दाहाल, जोन चेयरपर्सन विकास श्रेष्ठ र संस्थापक अध्यक्ष सपना पाण्डेलगायतले बिदाइ गरेका हुन् । यसअघि नेपाल फेन्सिङ संघले पनि सहभागी खेलाडीलाई बिदाइ गरेको थियो ।
नेपाली खेलाडीको कतारमा प्रतियोगिता खेल्नका लागि एनआरएनए एनसिसी कतार, रमेश भट्ट, महेन्द्रप्रसाद चम्लगाइँ, राजेन्द्रकुमार शर्मा र नरेन्द्रबहादुर भट्टलगायतले व्यवस्थापन गरेका छन् ।
विश्व वरीयता सुधारका लागि महत्वपूर्ण मानिएको यो प्रतियोगितालाई ओलम्पिक छनोटको प्रारम्भिक आधारका रूपमा समेत हेरिएको छ । सागर नेपाल एपिएफका हुन् ।
बागमती प्रदेशका भीष्मराजले सन् २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए । सागरले सन् २०१९ मा नेपालमा भएको १३औं सागमा प्रतिस्पर्धा गरेका थिए । उनको प्रशिक्षणमा नेपालले पहिलोपल्ट २०१४ मा दक्षिण कोरियामा भएको १७औं एसियाली गेम्समा पनि प्रतिस्पर्धा गरेको थियो ।