काठमाडौं । थापाथली चेस पार्कले मंगलबार तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।
थापाथलीले फाइनलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई पराजित गर्यो । क्लासिकल ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ड २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय र्यापिड फायरबाट लिइएको थियो ।
थापाथलीका एफएम रिजेन्द्र राजभण्डारी सिएम सजिन महर्जनतथा राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशी विनिता कपालीसँग पराजित भए ।
थापाथलीका सुशील चौधरीले शैलेन्द्र न्यौपाने तथा आशिष फुयालले रिसोन थापालाई पराजित गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
र्यापिड फायरमा रिजेन्द्र पुनः सजिन सँग पराजित भए। सुशील आशिष सिन्दिरा जोशीले जित निकाल्दै थापाथलीलाई ३- १ को जित दिलाए ।
नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसँगै थापाथलीले २ लाख रुपैयाँ प्राप्त गर्यो । थापाथली तेस्रो पटक च्याम्पियन बनेको हो ।
उपविजेता ललितपुर स्पोर्टस क्लबले १ लाख २० हजार, तेस्रो स्थानमा रहेको ललितपुर महानगरपालिकाले ६० हजार तथा चौथो स्थान हासिल गरेको दोलखा चेस होमले ४० हजार प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।