काठमाडौं । नेपाली फुटबलमा डिभिजन फुटबलको मिति सर्नु कुनै नौलो कुरा होइन । तोकिएकै मितिमा लिग आयोजना गर्ने हो भने त अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पाप नै लाग्दो हो ।
सहिद स्मारक ‘बी’ डिभिजन तीन वर्षपछि बल्ल माघको अन्तिम साता सुरु हुँदै छ । ‘बी’ डिभिजन पछिल्लो पटक २०७८ को चैत महिनामा भएको थियो । त्यसयता यो लिग एन्फा र सहभागी क्लबबीचको कलहका कारण तीन पटक सरेको छ । ‘बी’ डिभिजन नै नभएपछि ‘ए’ डिभिजन सुरु हुने कुरै आएन । आजको दिन पनि गन्ने हो भने शीर्ष डिभिजन लिग नभएको ५७६ दिन भइसक्यो । अहिले एन्फा मुख्यालय मैदानमा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहेको छ । यो लिग पनि एन्फाले तीन वर्षपछि बल्लतल्ल आयोजना गरेको हो ।
एन्फाले तोकिएकै मितिमा लिग गर्न नसक्दा क्लबहरू आर्थिक भार खेप्न बाध्य हुन्छन् । नयाँ मिति तोकिने र बन्द प्रशिक्षणमा खेलाडीका लागि लगानी गरिसकेपछि मिति पुनः सर्दा यसको प्रत्यक्ष असर क्लबमाथि पर्दै आएको छ । यस्तै अवस्थाबाट गुज्रिरहेको टोली हो वालिङ नगरपालिका ।
महिला लिगको पहिलो चरणमा चौथो स्थानमा रहँदै सुपर लिग अर्थात दोस्रो चरणमा छनोट भएको टोली हो, वालिङ नगरपालिका । वालिङले शुक्रबार सुपर लिगको आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ५-० को फराकिलो हार बेहोनुपरेको थियो । वालिङ यसरी फराकिलो अन्तरले हार्नुको पछाडि निश्चित कारण छ । त्यो सबैलाई थाहा भएकै हो, पुलिस वालिङभन्दा शारीरिक र मानसिक रूपमा बलियो टोली हो । तर, मुख्य प्रशिक्षक दिलीप थापाको बुझाइमा हारका अन्य कारण पनि थिए ।
खेलपछिको पत्रकार सम्मेलनमा थापाले लामै गुनासो पोखे । उनलाई आफ्ना खेलाडीको प्रदर्शनप्रति कुनै आपत्ति थिएन । उल्टै उनी आफ्नो स्तरअनुसार प्रदर्शन गरेको भन्दै खेलाडीलाई स्याबासी दिइरहेका थिए । उनको गुनासो एन्फाप्रति थियो । एन्फाको भद्रगोल व्यवस्थापनप्रति थियो । भएको के हो ? यो लिग २०२४ को सेप्टेम्बर १ देखि सुरु भएको हो । एन्फाले डिसेम्बरसम्म लिगको समापन गर्ने योजना बनाएको थियो । जसअनुसार आजको मितिसम्म लिग सकिसक्नुपर्ने थियो । त्यहीअनुसार क्लबले आफ्नो तयारी गरेको हो । तर, एन्फाले खेलतालिका संशोधन गर्दै जनवरी अन्तिमसम्म लिग सकिने गरी नयाँ तालिका निकाल्यो । त्यसको प्रत्यक्ष असर वालिङले अहिले भोगिरहेको छ । कसरी ?
वालिङले डिसेम्बरसम्म तीन विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तर, दोस्रो चरण नयाँ वर्षदेखि सुरु हुँदा विदेशी खेलाडीले खेल्नै पाएनन् । बिहीबारमात्र यी खेलाडी स्वदेश फर्किएका थिए । डिसेम्बरमै लिग सकिएको भए वालिङले मैदानमा बलियो प्रस्तुति दिने अपेक्षा थापाको थियो ।
‘हामीले लिगकै लागि भनेर विदेशी खेलाडी भित्र्याएका थियौं । अन्तिममा आएर लिगको मिति नै सारियो । यसरी त हामीलाई गाह्रो भइहाल्छ । उसो त हामी आर्थिक रूपमा कमजोर छौं । हामीले दोस्रो चरणबाट कुनै पनि अपेक्षा राखेका छैनौं । हामीलाई थाहा छ हामी एकदमै कमजोर छौं,’ थापाले गुनासो पोखे, ‘हामी अहिले गाह्रो अवस्थामा छौं । आर्थिक अनि मानसिक रूपमा पनि । सबै खेलाडी एकै ठाउँ बसेर प्रशिक्षण गर्न पाएनौं । लिगलाई बीचमै छोड्ने कुरा पनि आएन । यही खेलाडीलाई लिएर यो लिग सिध्याउने योजना बनाएका छौं ।’
वालिङले फरवार्ड ज्याकलिन नसाली, रक्षक भियोला नामुदु र मिडफिल्डर सिसी नानटोंगुलाई अनुबन्ध गरेको थियो । शुक्रबार वालिङले पुलिसविरुद्ध १८ खेलाडीमात्र समावेश गरेको थियो । फुटबलमा यो संख्या निकै कम हो । अझ वालिङ जस्तो क्लबमा खेलाडी फिटनेसमै संघर्ष गरिरहेका छन्, यो संख्याले आगामी दिनमा वालिङलाई जटिल अवस्थामा पु¥याउन सक्छ । शुक्रबारको खेलकै कुरा गरौं न, आठ मिनेट बित्न नपाउँदै गोलकिपर राधिका ओली चोट बोक्दै मैदानबाट बाहिरिन बाध्य भइन् । उनलाई दोस्रो रोजाइका गोलकिपर अस्मिता रनपालले प्रतिस्थापन गरेकी थिइन् । विदेशी खेलाडीसँगै नेपाली राष्ट्रिय यु-२० टोलीकी कप्तान सारा बज्राचार्य पनि अनुपस्थित थिइन् । उनी पढाइको सिलसिलामा अमेरिका हानिएकी हुन् । यस्तोमा अब के वालिङ यिनै १८ खेलाडीमा निर्भर हुन्छ त ?
‘हामी विदेशी खेलाडीलाई अनुबन्ध गर्ने स्थितिमा छैनौं । घरेलु खेलाडीको हकमा कोहीको परीक्षा चलिरहेको छ । कोही घरायसी कारणले उपस्थिति जनाउन सकेका छैनन् । अर्को खेलका लागि उनीहरु आइपुग्ने छन्,’ थापाले भने ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफमा तीन गोल थपेको हो । पुलिसको जितमा स्ट्राइकर अनुष्का शेर्पा र विंगर सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो ।
जितसँगै पुलिस क्लब त्रिभुवन आर्मीलाई गोल अन्तरमा उछिन्दै शीर्षस्थानमा उक्लिएको छ । जितपछि पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवालले भने, ‘पाँच गोल गर्न पाउँदा हामीलाई फाइदा पुगेको छ । तर, यात्रा अझै बाँकी छ । हामीले अझै बलियो प्रतिद्वन्द्वीसँग खेल्न बाँकी छ ।’