काठमाडौं। एसिया रग्बी ट्रफीमा इरानले सहभागिता नजाउने भएको छ । महिलातर्फ सहभागिता जनाउने भनिए पनि इरानले देशमा अन्तरिक द्धन्द्धका कारण नाम फिर्ता लिएको प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी हुनेछन्
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार र शनिबार आयोजना हुँदैछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । यस प्रतियोगितामा उनले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताए ‘पोखरामा टोलीले करिब तीन महिनादेखि अभ्यास गरिरहेको छ । त्यसैले हाम्रो लक्ष्य उपाधि जित्नु हुनेछ,’ उनले भने, ‘पहिलो पटक नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुदा हामी उत्साहित छौं ।’
प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भइसकेको छ । महिला टोली सिर्जना राई र पुरुष टोली विक्रम पुरीको कप्तानीमा मैदान उत्रिनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित स्वर्ण पदक पदक प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई रजत र तेस्रो स्थान हासिल गर्नेलाई कांस्य पदक प्रदान गरिने छ ।
प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।