अदिती ओलम्पिक दिवस चित्रकला प्रतियोगितामा प्रथम

काठमाडौं, (खेलाडी)- भिएस निकेतन स्कुलकी कक्षा ८ मा अध्ययनरत छात्रा अदिती केसीले ओलम्पिक दिवसको अवसरमा आयोजित भर्चुअल चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । 

ओलम्पिक दिवसको अवसरमा भिएस निकेतनले आफ्ना विद्यार्थीहरुकाबीच प्रकृति, ग्लोबल वार्मिङ र भविश्य विषयमा भर्चुअल चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा २ सय ५० विद्यार्थीको सहभागिता थियो । प्रतियोगितामा वर्षदा धिताल दोस्रो र आर्य प्रधान तेस्रो भएको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ । 

यसैगरी दाङको तुलसीपुरस्थित संस्कार पाठशालाको आयोजनामा भएको क्‍विज कन्टेस्टमा न्युसन खनाल प्रथम हुँदा विमल ओली दोस्रो तथा स्वर्णिम पोखरेल तेस्रो भए । कन्टेस्टमा आठ विद्यार्थीको सहभागिता थियो । 

विभिन्‍न कार्यक्रमसहित विभिन्‍न स्थानमा पाँच दिनसम्म ओलम्पिक दिवस मनाउने नेपाल ओलम्पिक कमिटीको निर्णयअनुसार सुदूर पश्‍चिम प्रदेशमा रहेका ओलम्पियन, खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीहरुले ओलम्पिकलाई वातावरणसँग जोड्दै बृक्षारोपणको आयोजना गरे ।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषदले ओलम्पिक दिवसको अवसरमा सोमबारबाट ‘स्वास्थ्यको लागि खेलकुद, राष्‍ट्रको लागि खेलकुद, कर्णालीको ओलम्पिक लक्ष्य, पूर्वतयारीले जितिन्छ अवश्य’ भन्‍ने विषयमा प्रदेशस्तरीय वकृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । 

३ दिन सम्म चल्ने प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका ५४ विद्यार्थीहरुको सहभागिता रहेको छ ।