ओलम्पिक दिवसका कार्यक्रमहरु जारी

काठमाडौं, (खेलाडी)- आधुनिक ओलम्पिक सुरु भएको दिनलाई स्मरण गर्ने उद्देश्यले विश्‍वभर मनाइने ओलम्पिक दिवस नेपालमा पनि विभिन्‍न कार्यक्रमसहित देशका विभिन्‍न स्थानमा मनाइरहिएको छ । 

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्टस फर अलको संयोजनमा पाँच दिनसम्म ओलम्पिक दिवस मनाउने निर्णयअनुसार मंगलबार काठमाडौंमा भेट्रान्स टेबल टेनिस प्रतियोगिता आयोजना गरियो । 

प्रतियोगिताको ४५ वर्ष माथिको स्पर्धामा राजेन्द्र बज्राचार्य पहिलो हुँदा सुमन शाक्य दोस्रो तथा सुशील बज्राचार्य र अमिर बज्राचार्य तेस्रो भए । यसैगरी ५५ वर्षमाथिको उमेर समूहमा इन्द्रशेखर खड्काले उपाधि जित्दा मनोहरी थापा दोस्रो भए । प्रकाश धाख्वा र सदरमान श्रेष्‍ठ तेस्रो भए । 

त्यस्तै नेपाल लन टेनिस संघको आयोजनामा भएको पदाधिकारीबीचको टेनिस प्रतियोगितामा दीनेश तुलाधर पहिलो भए । राजु श्रेष्‍ठ दोस्रो हुँदा विकास जबरा र केशवराज पाण्डे तेस्रो भए । 

ललितपुर हात्तिबनस्थित लिटल एञ्‍जल्स स्कुलले ओलम्पिक दिवस मनाउने क्रममा भर्चुअल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । जसमा रिशु गोलाले प्रथम स्थान हासिल गर्दा फेविना गुरुङ दोस्रो भइन । 

देशका विभिन्‍न स्थानमा ओलम्पिक दिवस मनाउने क्रममा पोखरामा नौलो घुम्ती नेपालद्वारा सञ्‍चालित पुरुष लागुपदार्थ परामर्श, उपचार तथा पुनस्थापना केन्द्र धारापानी १८ पोखरामा कर्मचारी तथा सेवार्थीहरुको विच खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्‍न भयो ।

सुदूर पश्‍चिममा ओलम्पिक दिवस मनाउने क्रममा अपांगता भएकाहरुबीच मैत्रीपूर्ण टेबल टेनिस खेल भएको थियो । अपाङ्गता भएका तथा पूर्व राष्‍ट्रिय टेबल टेनिस खेलाडी उपेन्द्र कडायत तथा सुप प्रदेश खेलकुद सदस्य जीवन कुमार भट्टबीच खेल भएको थियो । 

यसैगरी नेपाल जिम्न्यास्टिक संघ, नेपाल जुडो संघ, नेपाल भारोत्तोलन संघ, नेपाल स्क्‍वास एण्ड र्‍याकेट संघले पनि विभिन्‍न कार्यक्रम गरी ओलम्पिक दिवस मनाए ।