काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य मंगलबार नेपाल गल्फ संघबाट सम्मानित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सद्स्यसचिव टंकलाल घिसिङले सद्भावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँसहित सम्मान गरे । उनले युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु(२१ तर्फको उपाधि जितेका थिए ।
नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड मास्टर फाइनलमामा उपाधि जितेको यो पहिलो पटक हो। सद्भाव समग्रमा भने दोस्रो भएका थिए ।
युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा सद्भावले समग्रमा ५(अन्डर २०५ स्कोर गर्दै उपाधि जितेका थिए। उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई दुई स्ट्रोकले पछि पारेका थिए ।
यो प्रतियोगिता जितेपछि सद्भावको विश्व वरीयतामा पनि सुधार भएको छ। उनी ५२ सुधार गर्दै ३१४औं स्थानमा उक्लिएका छन् ।