काठमाडौं । स्पेनिस ला लिगमा आइतबार जित्नै पर्ने दबाबमा रहेको रियाल मड्रिडले छिमेकी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडको सामना गर्दैछ । सान्टियागो बर्नाबाउमा हुने खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।
एट्लेटिको शीर्ष स्थानको बार्सिलानोभन्दा १३ अंकले पछाडि परिसकेको छ । दोस्रो स्थानको रियाल बार्सिलोनाभन्दा चार अंकले पछाडि छ । उपाधि होडमा बलियो चुनौती कायम राख्ने हो भने रियाललाई जितबाहेक विकल्प छैन ।
हाल ५७ अंकसहित चौथो स्थानमा रहेको एट्लेटिकोलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन अब बढीमा ६ अंक आवश्यक छ । किनभने २८ खेल सकिँदा एट्लेटिको पाँचौं स्थानको रियाल बेटिसभन्दा १३ अंकले अगाडि बढिसकेको छ । यस्तोमा आइतबार रियालविरुद्ध एट्लेटिकोलाई त्यति दबाब हुनेछैन । यद्यपि रियाललाई हराए एट्लेटिकोलाई तेस्रो स्थानमा उक्लिने अवसर छ ।
मड्रिड डर्बीअघि तीन खेल हुनेछन् । दिनको पहिलो खेलमा बार्सिलोनाले रायो भायोकानोको सामना गर्नेछ । भायोकानोलाई हराए बार्सिलोनाले ७ अंकको दूरी बनाउनेछ । खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ । त्यसपछि सेल्टा भिगोले डिपोर्टिभो अलाभेज र एथलेटिक क्लबले बेटिजसँग् खेल्नेछ । यी खेलहरु क्रमशः ९ र ११ः१५ बजे हुनेछन् ।
