काठमाडौं । राप्ती एफसीले आसन्न सहिद स्मारक महिला लिग २०८२ मा प्रतिनिधित्व गर्न नपाउने भएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न सहभागी क्लबहरुको बैठकपछि एन्फाले राप्तीलाई लिग खेल्न नदिने निर्णय गरेको हो ।
लिगमा गत सिजन सुपर स्टेजमा प्रतिस्पर्धा गरेका पाँच र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका पाँच गरि १० टोलीको सहभागिता हुने कुरा थियो । गत सिजन सुपर सटेजमा विभागीय टोलीहरुः साबिक विजेता एपिएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब अनि बागमती युवा क्लब र वालिङ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै छनोट प्रतियोगिताबाट संकटा एफसी, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा र झापा एफसी छानिएका थिए ।
तर, प्रतियोगिता मुखैमा आइपुग्दा एन्फाले लिगमा ९ टोलीको मात्र सहभागिता रहने जानकारी गराएको छ । भएको के हो ?
वालिङ नगरपालिकाले आर्थिक कारण देखाएर आफ्नो नाम फिर्ता लिएपछि एन्फाले छनोट प्रतियोगितामा छैटौं स्थान हासिल गरेको राप्तीलाई गत फागुन २६ गते पत्राचार गरेको थियो । राप्ती प्रतियोगिताका लागि तयार भएपछि एन्फाले बिहीबार खेल तालिका सार्वजनिक गर्यो । तर, खेल तालिका सार्वजनिक गरेको तीन दिनपछि एन्फाले राप्तीलाई पुनः लिगका लागि अयोग्य ठहर गरिदिएको छ ।

छनोट प्रतियोगिताको प्लेअफमा राप्तीले झापासँग १-० को हार बेहोरेको थियो । आ-आफ्ना समूहको तेस्रो स्थानमा रहेका यी दुई टोलीले अन्तिम ‘स्पट’का लागि प्रतिस्पर्धा गरेका थिए । एन्फाका अनुसार सहभागी क्लबहरुले राप्तीको सहभागिता नियमविपरित भएको भन्दै विरोध जनाएका थिए ।
‘सहभागी क्लबहरुको बैठकमा बहुमतले राप्तीलाई सहभागी हुन नदिन जोड दिएका थिए । हामी बहुमतको निर्णयमा गएका हौं । उनीहरुको माग छनोट प्रतियोगितामा असफल क्लबलाई खेल्न दिनुहुन्न भन्ने थियो,’ एन्फा लिग निर्देशक सञ्जीव मिश्रले बताए ।
एन्फाको यो निर्णयले क्लब र खेलाडी दुबैलाई असर परेको छ ।
‘लिगकै लागि भनेर घरबाट आजै मात्र काठमाडौं आएको थिएँ । एक्कासी हामी खेल्न नपाउने भन्ने कुरा सुन्दा दुःख लागेको छ । नेपालमा लिग हुने नहुने भन्ने टुंगो हुँदैन । एन्फाले यो निर्णय लिनुभन्दा अघि हामी खेलाडीको बारेमा त सोच्नुपथ्र्यो । तर, क्लबले जसरी भएपनि लिग खेल्छौं भनेर आश्वासन दिनु भएको छ,’ राप्तीका एक खेलाडीले खेलाडी डटकमलाई भनिन् ।

बिहीबारको तालिका अनुसार चैत ४ गते उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुने तय थियो । मिश्रका अनुसार सोमबार नयाँ तालिका सार्वजनिक हुनेछ ।
वैशाख १२ गतेसम्म चल्ने लिग सिंगल राउन्ड रोविन पद्धतिमा खेलाइनेछ ।
