काठमाडौं । एन्फा राष्ट्रिय लिगमा पुछारबाट तेस्रो स्थानमा रहेको चित्लाङ एफसीले उपाधिको दाबेदार एपिएफ एफसीलाई गोलरहित बराबरीमा रोकेको छ ।
आइतबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरहरुलाई सदुपयोग गर्न सकेनन् ।
बराबरीसँगै एपिएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११औं खेल सकिँदा एपिएफ २५ अंकका साथ दोस्रो स्थानमा छ ।
समान अंकका बावजुद मछिन्द्र गोल भिन्नतामा अगाडि छ । यद्यपि मछिन्द्रले एक खेल कम खेलेको छ । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।

आइतबार बिहान सातदोबाटोमै भएको दिनको पहिलो खेलमा जावलाखेलले काँक्रे बिहारलाई ४-१ ले हरायो । जितसँगै १०औं स्थानमा रहेको जावलाखेलले १० खेलमा १३ अंक जोडेको छ । समान खेलमा काँक्रे बिहारको मात्र १ अंक छ ।
खेलमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । दीपेन्द्र चुनाराले छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जावलाखेलका लागि बौबाकर सिसोखोले १६औं मिनेटमा बराबरी गोल फर्काए ।
दोस्रो हाफमा निकोलस ह्यामिल्टनले दुई तथा विकास दर्लामी मगरले एक गोल गरे ।
दशरथ रंगशालामा साँझ ६ बजे हुने दिनको तेस्रो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुनेछन् ।
