काठमाडौं । एन्फा राष्ट्रिय लिगमा बुधबार तीन खेल हुँदैछन् ।
बिहान १० बजे हुने पहिलो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रेबिहार क्लबले पाँचौं स्थानको लालिगुँरास एसोसिएसनसँग खेल्नेछ । लालिगुराँस अपराजित तीनमध्ये एक टोली हो ।
दिउँसो २ बजे हुने दोस्रो खेलमा श्री भगवती क्लबले सातदोबाटो युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोलाई हराउँदै श्री भगवतीसँग १०औं स्थानमा उक्लिने अवसर छ । पछिल्ला तीन खेलमा जीतविहिन सातदोबाटोलाई पनि लयमा फर्किन यो खेल महत्वपूर्ण छ । हाल सातदोबाटो ४ अंकसहित १३औं स्थानमा छ ।
त्यस्तै साँझ ६ बजे हुने अन्तिम खेलमा अपराजित एपिएफ एफसीले मनाङ मर्स्याङ्दीको चुनौती पन्छाउँदै छ । एपिएफसँग शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका छ । ८ अंकका साथ नवौं स्थानको मनाङसँग एक स्थान माथि जाने अवसर छ ।
तीनवटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
