काठमाडौं । नेपालमा फुटबलको सुनिश्चिता नुहँदा बढ्दो विदेश पलायनको लर्कोमा थप तीन खेलाडी थपिएका छन् ।
सोमबार उदीयमान गोलकिपर कृशल मोक्तानसँगै मिडफिल्डर दीपेश धिमाल र रक्षक निर्मल बल तामाङले अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका छन् ।
कृशलले राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबको गोलपोस्ट सम्हालिरहेका थिए । त्यस्तै दीपेशले विभागीय टोली एपिएफ क्लबमा पहिलो रोजाईमै मौका पाइरहेका थिए । गत वर्ष जेठमा सम्पन्न सी डिभिजन लिगमा बागमती युवा क्लब च्याम्पियन बन्दाका सदस्य निर्मलले मंसिरमा सम्पन्न एन्फा प्रेसिडेन्ट लिगमा हैरान्स क्लबको जर्सी लगाएका थिए ।
उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका कृशललाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिएको थियो । यु-१७ देखि नेपालको जर्सी लगाएका कृशलले पछिल्लोपटक ताजकिस्तानमा भएको एएफसी यु-२३ एसियन कप छनोट खेलेका थिए । त्यतिबेला उनी मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको टोलीका प्रमुख गोलकिपर थिए ।
एएफसी यु–२३ छनोटअघि कृशलले सन् २०२४ मा चाइनिज ताइपेइमा भएको एएफसी यु–२० एसियन कप छनोट खेलेका थिए । त्यो ब्याचबाट पछिल्लो तीन महिना मात्र चार खेलाडीले अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए ।
कृशलअघि अनिल बोम्जन लामा, आयुष तिम्सिना, जियारथ सेख र अश्विन घोरासैनी (र्याकी) अस्ट्रेलिया उडेका थिए ।
