काठमाडौं । राजधानीमा भइरहेको जय ट्रफी मेन्स एलिट कपमा कुशल भुर्तेलको बिस्फोटक ब्याटिङ प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।
दोस्रो खेलमा पहिलो जित हात पार्नेक्रममा पुलिसले मंगलबार सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्धको खेल पुलिसले ९ विकेटले जित हात पारेको हो ।
१ सय १३ रनको लक्ष्य पुलिसले १ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर कुशलले ५३ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक ७१ रन जोडे । अमित श्रेष्ठले २५ बलमा अविजित ३२ रन बनाए । कुशल र अमितले दोस्रो विकेटका लागि ९० रनको विजयी साझेदारी गरे ।
एपिएफका लागि भुवन कार्कीले १ विकेट लिए । पहिलो इनिङमा ९२ रनले पछि परेको एपिएफले दोस्रो इनिङमा २ सय ४ रन मात्र जोड्न सक्यो । एपिएफका लागि दोस्रो इनिङमा ओपनर दिपक बोहोराले १ सय २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ९४ रन जोडेका थिए । अमरसिंह राउटेला ३२, आसिफ शेख २१ तथा सन्दीप जोरा ११ रनमा आउट भए ।
पुलिसका लागि ललित राजवंशीले ५, कुशल भुर्तेलले ३ तथा सागर ढकाल र शंकर रानाले समान १ विकेट लिए । त्यसअघि नेपाल पुलिसले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको एपिएफ ६३ दशमलव ४ ओभरमा अल आउट ह्दै १ सय ८५ रनमात्र बनाउन सक्यो । एपिएफका लागि सुमित महर्जनले ५५ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एपिएफलाई कम रनमै रोक्न पुलिसमा ललित राजवंशी र सागर ढकालले समान ४ तथा कुशल भुर्तेलले २ विकेट लिएका थिए । त्यसपछि पहिलो इनिङको सुरुवात गरेको पुलिसले २ सय ७७ रन बनाइ ७ विकेट गुमाएको अवस्थामा पारी समाप्तीको घोषणा गर्यो । पुलिसका लागि शंकर रानाले १ सय ५५ बलमा अविजित १ सय ५ रन बनाए । शंकरले ३ चौका र ५ छक्का प्रहार गरे ।
दिलशाद अलिले ८७ बलमा ५८ तथा राशिद खानले ३० रन बनाए । एपिएफका लागि इश्राद अहमद, अभिषेश गौतम, भुवन कार्की, युवराज खत्री, अमर राउटेला र सन्दीप जोराले समान १ विकेट लिए ।
पहिलो खेलमा आर्मीसँग पराजित पुलिसको जित पश्चात ३७.५ अंक भएको छ । पुलिस जित पश्चात पनि दोस्रो स्थानमा छ । पराजित एपिएफको भने ३८ अंक भएको छ ।
