काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले एसिएलको शल्यक्रियाका लागि आवश्यक खर्च जुटेको छ ।
मंगलबार ४ बजे सावित्राले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचार तथा रिह्याबका दौरान लाग्ने आवास र यातायात खर्च जुटेको जानकारी दिएकी हुन् ।
सावित्राले सोमबार दिउँसो भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।
घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सोमबार सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी थिइन् । २४ घण्टापछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्ल्याटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर (४५ लखा नेपाली रुपैयाँ) जम्मा भइसकेको सावित्राले जानकारी गराएकी छन् ।
राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा विगत सात हप्तादेखि चोटका कारण मैदानबाहिर छिन् । उनका अनुसार यसअघि शल्यक्रिया गरिएको घुँडाको एसिएलमा हालेको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ ।
एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।
साढे चार वर्षअघि पनि घरेलु लिगका दौरान सशस्त्र प्रहरी बलको एपिएफबाट नेपाल पुलिस क्लबविरुद्ध खेल्दा सावित्रालाई घुँडामा गम्भिर चोट लागेको थियो । त्यतिबेला एन्फाले कतार फुटबल संघसँगको सहकार्यमा उनलाई कतारस्थित एस्पेटार अस्पतालमा थप उपचार बन्दोबस्त गरिएको थियो ।
यसअघि उनको उपचारमा एन्फा नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । तर, यसपटक एन्फबाट प्रशासनिक सहयोग उपलब्ध नभएको उनले सोमबारको स्ट्याटसमा उल्लेख गरेकी थिइन् ।
एन्फा अध्यक्षले प्रशासनिक प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको तर उपचार प्रक्रिया आफैँ व्यवस्थापन गर्न भनेको कुरा उल्लेख गर्दै सावित्राले गुनासो पोखेकी थिइन् ।
सावित्राको स्ट्याटसपछि खेलाडी तथा नेपाली फुटबलका सयौं सरोकारवालाले उनको पीडामा ऐक्यबद्धचता जनाएका थिए । छन् ।
