काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा शुक्रबारबाट एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली गाईघाट एफसी र न्युरोड टिम (एनआरटी) क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ ।
फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण विग स्पोट्र्स प्रा.लि.अन्तर्गत रहेको खेलाडी डटकमले गर्नेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।
यसैगरी विद्यागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको टिकट दर क्वार्टर फाइनलसम्मको लागि एक सय र त्यसपछिका खेलका लागि दुई सय रुपैयाँ तोकिएको छ । टिकट भौतिक रुपमा रंगशालाको गेटमा किन्न सकिनेछ ।
प्रतियोगिताको अनुमानित बजेट एक करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको एन्फाले जानकारी गराएको छ । प्रतियोगितामा राष्ट्रिय लिग च्याम्पियन एपिएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, गाईघाट एफसी, न्यरोड टिम(एनआरटी), आरएस रिसोर्ट एन्ड बिच फुटबल, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी, एफसी रियाले र संकटा एफसीको सहभागिता छ ।
