काठमाडौं । नेपाली स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी बिहीबार सम्पन्न पाकिस्तान सुपर लिग (पिएसएल) को अक्सनबाट इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका छन् ।
दीपेन्द्रलाई दोस्रो राउण्डको अक्सनमा इस्लामाबादको टोलीले ६० लाख पाकिस्तानी रुपी (३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।
दीपेन्द्रको यो तेस्रो विदेशी लिग हो । दीपेन्द्रले यसअघि क्यानाडाको ग्लोबल ट्वान्टी–२० लिग र युएईमा हुने आइएल ट्वान्टी–२० मा सहभागीता जनाइसकेका छन् । पिएसएल खेल्ने हकमा भने दीपेन्द्र दोस्रो नेपाली क्रिकेटर हुन् । सन् २०१९ मा भएको पिएसएलको चौथो संस्करणमा लाहोर कलन्दर्सबाट खेलेका सन्दीप लामिछाने पाकिस्तानको लिग खेल्ने पहिलो नेपाली हुन् ।
इस्लामाबादको टोली पिएसएलको सर्वाधिक सफल टिम हो । सन् २०१६ मा पिएसएल सुरु हुँदादेखि नै यो टोली निरन्तर रहेको छ । हालसम्मका दश मध्ये तीन संस्करणमा इस्लामाबाद च्याम्पियन भइसकेको छ ।
लिगको पहिलो संस्करणमा नै च्याम्पियन भएको इस्लामाबाद एक संस्करणबाहेक हरेक पटक प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
इस्लामाबाद सन् २०२० को पाँचौ संस्करणबाट निरन्तर अलराउण्डर शाडब खानको कप्तानीमा खेलिरहेको छ । पाकिस्तानी फ्रेन्चाइज क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिताको पहिलो संस्करणमा नखेलेका शाडब त्यसयता सधै इस्लामाबादकै टोलीमा छन् ।
यसै संस्करणबाट मात्र अक्सनबाट खेलाडी छान्ने चलन सुरु गरिएको पिएसएलमा इस्लामाबादले शाडब सहित आन्द्रेस गौस र सलमान इर्शादलाई रिटेन गरेको थियो । डेभन कन्वेलाई टोलीले अक्सन अघि नै अनुबन्ध गरिसकेको थियो ।
इस्लामाबादले अक्सनबाट फहिम अर्सरफलाई ८ करोड ५ लाख पाकिस्तानी रुपीमा भित्र्याएको छ । उनले जारी विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसैगरी इस्लामाबादले न्युजिल्याण्डका ब्याटर मार्क च्याम्पम्यानलाई ७ करोड पाकिस्तानी रुपीमा भित्र्याएको छ ।
अस्ट्रेलिया र न्युजिल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका लुक रुन्ची इस्लामाबाटको मुख्य प्रशिक्षकको भूमिकामा छन् । इस्लामाबादको टिममा पाकिस्तानका मोहम्मद हुस्नैन, इङ्ल्याण्डका रिचार्ड ग्लेसन, अस्ट्रेलियाका म्याक्स ब्रायन्ट, पाकिस्तानका समिर मिनास लगायतका खेलाडीको उपस्थिती छ ।
