काठमाडौं । यही फागुन १ देखि ९ गनेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण विग स्पोर्ट्स प्रा.लि.अन्तर्गत रहेको खेलाडी डटकमले गर्ने भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राई र विग स्पोर्ट्स प्रा.लि.का प्रबन्ध निर्देशक अञ्जन खड्काले प्रसारण र डिजिटल अधिकारको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रत्यक्ष प्रसारण खेलाडी डटमको युट्युब र फेसबुक पेजबाट गरिनेछ ।
त्यस्तै एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विस्तृत जानकारी गराएको छ । एन्फाका अनुसार प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

यसैगरी विद्यागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको टिकट दर क्वार्टर फाइनलसम्मको लागि एक सय र त्यसपछिका खेलका लागि दुई सय रुपैयाँ तोकिएको छ । टिकट भौतिक रुपमा रंगशालाको गेटमा किन्न सकिनेछ ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको अनुमानित बजेट एक करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको एन्फाले जानकारी गराएको छ । प्रतियोगितामा राष्ट्रिय लिग च्याम्पियन एपिएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, गाईघाट एफसी, न्यरोड टिम(एनआरटी), आरएस रिसोर्ट एन्ड बिच फुटबल, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी, एफसी रियाले र संकटा एफसीको सहभागिता रहनेछ ।
