काठमाडौं । पूर्व कप्तान विराट कोहली र रोहित शर्मालाई 'बी' श्रेणीमा राख्दै भारतको केन्द्रीय सम्झौतामा रहने नयाँ खेलाडी वर्गिकरण सार्वजनिक भएको छ । गएको अक्टोबर १ देखि यस बर्षको सेप्टेम्बर ३० सम्मको अवधिलाई समेट्दै नयाँ खेलाडी वर्गिकरण सार्वजनिक भएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सोमबार जारी गरेको केन्द्रीय सम्झौतामा रहने नयाँ वर्गिकरणमा ३० खेलाडी अटाएका हुन् । अघिल्लो वर्ष सम्झौतामा 'ए' श्रेणीमा रहेका मोहम्मद सामी तथा सी श्रेणीमा रहेका रजत पाटीदार, मुकेश कुमार र सरफराज खान सम्झौतामा अटाएका छैनन् ।
बीसीसीआइका अनुसार शीर्ष श्रेणी (श्रेणी ए) मा केवल तीन खेलाडीहरू समावेश छन् । भारतीय टेस्ट र एकदिवसीय कप्तान शुभमन गिल, फास्ट बलर जसप्रित बुमराह र अलराउन्डर रवीन्द्र जडेजा ए श्रेणीमा अटाएका छन् । नयाँ सम्झौता सूचीमा २०२४२५ सूचीमा रहेको 'ए' प्लस श्रेणी भने समावेश गरिएको छैन । कोहली, रोहित, बुमराह र जडेजा उक्त श्रेणीमा रहेका खेलाडी थिए।
गत वर्ष रोहितबाट टेस्ट र एकदिवसीय दुवै कप्तानीको जिम्मेवारी पाएका गिल सूचीमा सबैभन्दा ठूलो माथिल्लो 'ए' श्रेणीमा पहिलो पटक अटाएका हुन् । भारतीय ट्वान्टी २० टोलीका कप्तान सूर्यकुमार यादव भने 'बी' श्रेणीमा रहेका छन् । यादब सहित 'बी' श्रेणीमा ११ खेलाडी समावेश रहेका छन् । भारतीय टोलीका उपकप्तान अक्षर पटेल सहितका १६ खेलाडी 'सी' श्रेणीमा रहेका छन् । बीसीसीआईले केन्द्रीय सम्झौतामा अनुबन्धित खेलाडीको सेवा सुविधा भने उल्लेख गरेको छैन ।
२०२५/२६ को लागि बीसीसीआई अनुबन्धित खेलाडीहरू:
श्रेणी ए: शुभमन गिल, जसप्रीत बुमराह, रवीन्द्र जडेजा
श्रेणी बी: वाशिंगटन सुन्दर, रोहित शर्मा, विराट कोहली, केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, ऋषभ पन्त, कुलदीप यादव, यशस्वी जयसवाल, सूर्यकुमार यादव, श्रेयस अय्यर
श्रेणी सी: अक्षर पटेल, तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, सञ्जु सैमसन, अर्शदीप सिंह, प्रसीद कृष्ण, आकाश दीप, ध्रुव जुरेल, हर्षित राना, वरुण चक्रवर्ती, नितिश कुमार रेड्डी, अभिषेक शर्मा, साई सुधरसन, रवि बिश्नोई, रुतुराज गायकवाड
