काठमाडौं । भुटानले साफ महिला फुटसल च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । बुधबार उपाधि होडबाट बाहिरिसकेको माल्दिभ्सविरुद्ध भुटानले ४-२ को विजयी हासिल गर्यो ।
बुधबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा दिनको तेस्रो खेलमा भुटानले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानले थप दुई गोल गर्दा माल्दिभ्सले पनि एक गोल फर्कायो ।
जितसँगै भुटान चार खेलमा ८ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि भुटानले दुई बराबरी र एक खेलमामा जित हासिल गरेको थियो । अबका दुई खेलमा ६ अंक बटुल्ने हो भने भुटानले कम्तिमा पनि दोस्रो स्थान पक्का गर्नेछ । भाग्यशाली सावित भए भुटानसँग उपाधि जित्ने पनि उत्तिकै अवसर छ ।
शीर्ष स्थानको बंगलादेशले चार खेलमा १० अंक जोडेको छ । भुटानले उपाधि उचाल्ने हो भने बंगलादेशले कुनै एक खेलमा अंक गुमाउनु पर्नेछ । माल्दिभ्सको भने यो लगातार चौथो हार हो ।
आफ्नो पाँचौं खेलमा भुटानले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माल्दिभ्सको भेट श्रीलंकासँग हुनेछ ।
