काठमाडौं । यही जनवरी २४ देखि २५ सम्म हुने फुटसल एसिया च्याम्पियनसिपमा सहभागिता जनाउन टिपटो स्पोर्टस एकेडेमी बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
थाइल्यान्डमा एकेडेमीका यु-१२ र यु-१४ टोलीले देशको प्रतिनिधित्व गर्नेछन् । दुई दिने प्रतियोगितामा थाइल्यान्ड, जापान, चाइनिज ताइपेई, इन्डोनेसिया, जर्मनी र नेपालगरि ६ देशका टोलीहरुको सहभागिता रहनेछ ।
युवा फुटबल खेलाडीहरुको विकासमा केन्द्रित यो प्रतियोगिता थाइल्यान्डको सिली स्पोर्टस क्लबले आयोजना गर्ने वार्षिक कार्यक्रम हो । टिपटोका लागि यो दोस्रो सहभागिता हो । यसअघि अघिल्लो वर्ष टिपटोले प्रतियोगितामा सहभागिता जनाएको थियो ।
हालै मात्र टिपटोले सिली स्पोर्टस क्लबसँग ‘मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयु)मा हस्ताक्षर गरेको छ । दुई पक्षको समझदारीअनुरुप युवा फुटबल विकासमा नेपाल र थाइल्यान्डबीचको सहकार्यलाई सृदृढ बनाउने अपेक्षा गरिएको छ । त्यस्तै यो साझेदारीले भविष्यमा फुटबल प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बाटो खुला गर्ने विश्वास टिपटोले गरेको छ ।
