काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मंगलबार सम्पन्न दुबै खेल बराबरीमा सकिएको छ ।
दिनको पहिलो खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्यो । दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । दुबै खेल सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको हो ।
म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले ४१औं मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा लछुमान रानामगरले आत्मघाती गोल गर्दा चित्लाङले दुई अंक गुमायो ।

लिगमा पुलिसको यो पहिलो अंक हो । पहिलो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडसँग १–० को हार बेहोरेको थियो । चित्लाङले यसअघि नव जनजागृति क्लबलाई २–१ ले हराएको थियो ।
आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबमाथि ५-० को फराकिलो जित हासिल गरेको आर्मीले मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।
लिगमा बुधबार कुनै पनि खेल हुने छैनन् ।
