काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।
मंगलबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।
दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् ।
सुमन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोली पछिल्लो दुई सातायता प्रतियोगिताका लागि तयारी गरिरहेको छ । हाल ३५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । श्रेष्ठले खेलाडी डटकमलाई जानकारी गराएअनुसार मंगलबार अन्तिम २३ सदस्यीय टोली घोषणा हुनेछ ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।

