काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच आइतबार प्रायोजन सम्झौता भएको छ ।
एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगमा स्थान बनाएको चित्लाङलाई प्रभुले लाइफ इन्स्युरेन्स पार्टनरका रूपमा साथ दिने भएको हो ।
सम्झौतापत्रमा क्लबका अध्यक्ष सुगन तण्डुकार र प्रभुका प्रमूख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले हस्ताक्षर गरे ।
सम्झौतापछि चित्लाङलाई प्रभु लाइफ इन्स्योरेन्सले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरुमार्फत कम्पनीको प्रवर्धन गर्नेछ ।
सम्झौतापछि प्रभुका सिइओ प्रसाईले देशको लोकप्रिय खेल र चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । ‘देशलाई एकताको सुत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकोमा हामी निक्कै उत्साहित छौं । यो अवसर दिएकोमा हामी राष्ट्रिय लिगको टोली चित्लाङ एफसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ सिइओ प्रसाईले भने, ‘आगामी दिनमा पनि हामी नेपाली फुटबल र चित्लाङ एफसीसँगको सहकार्यलाई निरन्तरता दिनेछौं । ’
यसैगरी चित्लाङका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप उर्जा थपिएको प्रतिक्रिया दिए । ‘फुटबलमार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा प्रभु लाइफ इन्स्योरेन्ससँगको साथले उत्साह थपिएको छ,’ उनले भने,‘ यो सहकार्यका लागि हामी प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सप्रति आभार प्रकट गर्न चाहन्छु।’
