काठमाडौं । करिब तीन वर्षपछि बुधबारबाट फर्किएको राष्ट्रिय लिगमा आज (बिहीबार) दोस्रो दिन दुई खेल आयोजना हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ११ बजे हुने खेलमा सातदोबाटो र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन् । खेलमा सातदोबाटोले केही राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीलाई मैदानमा उतार्दै छ । यता, संकटाले भने एकेडेमीका खेलाडीलाई प्राथमिकतामा राखेको छ ।
यता, दोस्रो खेलमा प्रेसिडेन्ट लिगबाट छनोट भएको लालिगुँरास संघ र जावलाखेल युथ खेल्दैछन् । दिउसो ३ बजे हुने खेलमा दुबै टोलीले युवा खेलाडीलाई अवसर दिँदैछन् ।

प्रतियोगिताको पहिलो खेलमा फ्रेन्ड्स क्लबले कांक्रे बिहार क्लबलाई ३–१ ले हराएको थियो । पहिलो दिन नै भएको अर्काे खेलमा चर्च ब्वाइज युनाइटेड र श्री भगवती क्लबले १–१ को बराबरी खेलेका थिए ।
राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३ तथा छनोटबाट आएका चार गरी कूल १७ टिम प्रतिस्पर्धा गर्दैछन् ।
