काठमाडौं । ड्यारी मिचेलको सतकप्रेरित न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको दोस्रो एकदिवसीय खेल ७ विकेटले जितेको छ । राजकोटमा भएको खेल न्युजिल्यान्डले जितेसँगै तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ ।
पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । अब, निर्णायक खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।
टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले ४७.३ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो । यो जितपछि न्युजिल्यान्डले शृंखला जित्ने सम्भावना कायम राखेको छ ।
न्युजिल्यान्डको जितमा मिचलले ११७ बलमा अविजित सर्वाधिक १३१ रन बनाए । उनले ११ चौका र २ छक्का हिर्काएका थिए । विल योङले ९८ बलमा ८७ रन जोडे । उनले सात चौका प्रहार गरे ।
मिचेल र योङले तेस्रो विकेटको लागि एक सय ६२ रनको साझेदारी गरेका थिए । मिचेल र ग्लेन फिलिप्सले अविजित ७८ रनको साझेदारी गरेका हुन् । फिलिप्सले २५ बलमा ३२ रन बनाए ।
भारतका हर्षित राना, प्रसिद्ध कृष्ण र कुलदीप कार्कीले समान एक विकेट हात पारेका थिए ।
यसअघि भारतका केएल राहुलले पनि सतकीय इनिङ्स खेलेका थिए । उनले ९२ बलमा ११ चौका र १ छक्कासहित ११२ रन बनाएका हुन् । कप्तान शुभमन गिलले ५६ रन जोडेका थिए । उनले ५३ बलमा ९ चौका र १ छक्का हिर्काएका थिए । रोहित शर्माले २४ तथा विराट कोहलीले २३ रन बनाएका हुन् ।
न्युजिल्यान्डका लागि क्रिष्टियन क्लार्कले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
