काठमाडौं । घरेलु फुटबलमा नाम कहलिएका अनुहारहरुको बाहुल्य रहेको फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिगमा सानदार सुरुआत गरेको छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न उद्घाटन खेलमा कुपण्डोलको फ्रेन्ड्सले सुर्खेतको काँक्रे बिहार क्लबमाथि ३-१ को पुनरागमन जित हासिल गर्यो ।
खेलको छैटौं मिनेटमा फ्रेन्ड्सका राइटब्याक कमल श्रेष्ठको आत्मघाती गोलमार्फत काँक्रे बिहारले अप्रत्याशित अग्रता लिएको थियो । बल पोसेसन कायम राखे पनि फ्रेन्ड्स निर्धारित हाफसम्म गोलका लागि संघर्षरत रह्यो । थप गरिएको इन्जुरी समयमा सेन्ट्रल मिडफिल्डर प्रशान्त लक्समले गोल गरेपछि फ्रेन्ड्स खेलमा फर्कियो ।
खेलको ५९औं मिनेटमा फरवार्ड प्रवेश बस्नेतको गोलमा फ्रेन्ड्सले अग्रता लियो । निर्धारित समयको अन्तिम मिनेटमा अर्का फरवार्ड आशिष चापागाईले गोल गरेपछि फ्रेन्ड्सको जित सुनिश्चित भयो ।
दिनको दोस्रो खेलमा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
