काठमाडौं । बुधबारबाट सुरु भएको साफ पुरुष फुटसल च्याम्पियनसिपमा भारत र बंगलादेशले ४–४ को रोमाञ्चक बराबरी खेलेको छ ।
बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको दोस्रो खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबैले एक-एक गोल गरे ।
खेलको नवौं मिनेटमा मोहम्मद मोइन अहमदको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । तीन मिनेटपछि अनमोल अधिकारीले भारतलाई बराबरीमा ल्याए । १६औं मिनेटमा बंगलादेशले पुनः अग्रता बनायो । मोहम्मद राहबर वाहेद खानले टोलीलाई २–१ को स्थितिमा पुर्याए । चार मिनेटपछि नै भारत फेरि खेलमा फर्कियो । यसपाली गोल गर्ने खेलाडी थिए, लालसम्पुवा ।

दोस्रो हाफमा भारतले ३-२ को अग्रता लियो । के रोलुवाहपुइयाले २७औं मिनेटमा गोल गरे । चार मिनेटपछि मोहम्मद मोइन अहमदको व्यक्तिगत दोस्रो गोलमा खेल ३-३ को स्थितिमा पुग्यो ।
निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा रोलुवाहपुइयाले व्यक्तिगत दोस्रो गोल गर्दा भारत जिततर्फ अग्रसर बन्यो । तर, एक मिनेटपछि नै राहबर वाहेद खानले फेरि गोल गर्दा बंगलादेशले हार टार्यो ।
दिनको पहिलो खेलमा भुटान र श्रीलंकाले पनि ३-३ को बराबरी खेलेको थियो ।
दिनको तेस्रो खेलमा माल्दिभ्सले पाकिस्तानसँग खेल्नेछ । नेपालको पहिलो खेल शुक्रबार श्रीलंकासँग छ ।
