काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको छ ।
मंगलबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पहिलो हाफमा लिएको २–१ को अग्रतालाई जोगाउन सकेन । फलस्वरुप नेपाल अंक बाँड्न बाध्य भयो ।
नेपालले पहिलो मिनेटमै गोल खाएको थियो । पछि मनिषा थापामगर र विमला चौधरीको गोलमा नेपालले अग्रता बनायो । दोस्रो हाफमा श्रीलंकालाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । श्रीलंका भने एक गोल गर्दै अंक जित्न सफल रह्यो ।

निर्धारित समय सकिनै लाग्दा गोलकिपर सावित्री किसनले श्रीलंकाको ‘वान भर्सेस वान’लाई विफल पारेपछि नेपाल दूर्भाग्यजनक हारबाट जोगियो । एक मिनेट बाँकी छँदा जेनिफर रानामगरको लामो दूरीको प्रहार श्रीलंकन गोलकिपर पानिकिलियाजले सहजै बचाइन् ।
नेपालले बिहीबार आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ । सोही दिन श्रीलंकाको भेट पाकिस्तानसँग हुनेछ ।
