काठमाडौं । कार्यसमिति पदाधिकारीको बिरोध बाबजुद अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी साधारणसभा माघ २८ गते हुने भएको छ ।
बुधबार सातदोबोटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले माघ अन्तिम साता चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको भन्दै चार वर्षे कार्यकालपछि मात्रै चुनाव गर्न प्रस्ताव राखेका थिए ।
तर, अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यबाट पारित भएको भन्दै चुनावको मिति तय गरेका हुन् । ‘हामीले जिल्ला र प्रदेशको चुनावपछि मात्रै निर्वाचन गर्न अनुरोध गर्याै । तर, अध्यक्ष जसरी हुन्छ चुनाव गराउनेमै केन्द्रित हुनुभयो । हाम्रो कुरा सुनिएन ।’ एक पदाधिकारीले भने ।
एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । तर, चार वर्षे कार्यकाल छोट्याएर माघमै निर्वाचन (अर्ली इलेक्सन) गर्ने विषय बैठकबाट पारित भएको हो ।
२०७९ असार ५ गतेको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुनेछ । तर त्यही समयमा अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्यो भन्दा पहिला नै निर्वाचन सकिसक्ने एन्फा नेतृत्वको योजना थियो ।
एन्फा नेतृत्व जिल्ला फुटबल संघहरुको चुनाव नगराइकनै केन्द्रको अर्ली इलेक्सन गर्न अगाडी बढेको हो । एन्फाको सदस्यता लिएका सबै ४९ जिल्लासँग चुनावमा मताधिकार रहन्छ ।
