काठमाडौं । म्यानमारमा सम्पन्न एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल अंकविहीन बनेको छ । नेपालले समूह ‘जी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग २-० को हार बेहोर्यो ।
अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको नेपाल शुक्रबार अफगानिस्तानसँग सान्त्वना जितको लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । तर, नेपालले आफ्नो लक्ष्यलाई पूरा गर्न सकेन । याङ्गुनस्थित थुवुन्ना रंगशालामा अफगानिस्तानले दुबै हाफमा एक-एक गोल गर्यो ।
अफगानिस्तानको जितमा मेहरान अलीले २४औं र यासीन नूरजाहीले ६७औं मिनेटमा गोल गरे । छनोट समीकरणबाट बाहिरिसकेको अफगानिस्तानका लागि यो पहिलो जित थियो । यसअघि अफगानिस्तान सिरिया र म्यानमार दुबैसँग ३-१ ले पराजित भएको थियो ।
यसअघि नेपालले सिरियासँग ४-२, म्यानमारसँग ४-० र ओमानसँग ५-० को हार बेहोरेको थियो ।
