काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले दिएको १४३ रनको मध्यम लक्ष्य पछ्याइरहेको चितवन राईनोजले खराब सुरुआत गरेको छ ।
शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा तीन खेलाडीलाई गुमाउँदा मात्र २८ रन जोड्न सकेको छ । ओपनर दीपक बोहरा, डेविड मलान र सेफ जैब दोहोरो अंकमा रन जोड्न नपाउँदै पवेलियन फर्किए ।
दीपक पहिलो ओभरको पाँचौं बलमा ‘डक आउट’ भए । करणको बलमा दीपक शाहब आलमबाट क्याच भए । चौथो ओभरको पाँचौं बलमा मलानलाई मिलिन्द कुमारले जेरार्ड इरास्मसबाट क्याच गराए । अन्तिम ओभरमा मिलिन्दले नै जैबलाई विकेटकिपर जोन सिम्पसनबाट ‘स्टम्प आउट’ गरे ।
अब पारी उकास्ने जिम्मेवारीका साथ कप्तान कुशल मल्ल क्रिजमा आएका छन् । तेस्रो नम्बरका देव खनाल १९ रन बनाएर ब्याटिङ गरिरहेका छन् ।
