काठमाडौं । फुटबल यात्रीले कांस्कीको घान्द्रुकमा फुटबल क्याम्प सम्पन्न गरेको छ । मेश्रम बराह माध्यमिक विद्यालयमा सम्पन्न यो क्याम्पमा ५० भन्दाबढि बालबालिकाले सहभागिता जनाएका थिए ।
क्याम्पका दौरान राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराएका थिए ।क्याम्पमा टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपानेको पनि उपस्थिति थियो ।
बालबालीकालाई फुटबल तथा खेलकुदमा लाग्न प्रेरित गर्ने, नयाँ प्रतिभाको खोजि गर्ने, फुटबलको अनुसन्धान गर्ने, सार्थन गर्ने र खेलकुद शिक्षा प्रदान गर्ने उदेश्यका साथ फुटबल यात्रीले गत वर्षबाट देशका विभिन्न स्थानमा पुगेर फुटबल क्याम्प गरिरहेको छ ।

७७ वटै जिल्लामा पुग्ने लक्ष्य लिएको फुटबल यात्रीले हालसम्म सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलाली, मुस्ताङलगायतका स्थानमा गरी १८ वटा क्याम्प सम्पन्न गरिसकेको छ ।
क्याम्पलाई टिपटो स्पोर्टस एकेडेमी, टिपटो स्पोर्टस हब, वनजंगल एड्भेन्चर र युक्ति फाउन्डेसनले साथ दिएका छन् ।
