काठमाडौं । निरज चौधरीको ह्याट्रिकप्रेरित एन्फा प्रेसिडेन्ट लिगमा विजयी स्पोर्टस क्लबले देउराली युथ क्लबमाथि ४–१ को सानदार जित हासिल गरेको छ ।
आइतबार प्रतियोगिताको पाँचौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा विजयी स्पोर्टसलाई पहिलो जित दिलाउन निरजसँगै एरोन थापाले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । देउरालीका लागि उज्जल राईको गोल सान्त्वना बन्यो ।
यसअघिका खेलमा विजयी स्पोर्टसले लालिगुँरास एसोसिएसन क्लबसँग गोलरहित र चित्लाङ एफसीसँग १–१ को बराबरी खेलेको थियो ।
प्रतियोगितामा देउरालीको यो दोस्रो हार हो । पहिलो खेलमा चित्लाङसँग ४–१ को हार बेहोरेको देउरालीले त्यसपछि जन जागृति युवा क्लबलाई ३–१ ले हराएको थियो ।
सोमबार प्रतियोगिताको छैटौं दिन समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा नव जागृति क्लबले गाईघाट फुटबल क्लबसँग खेल्नेछ । दोस्रो खेलमा काँक्रे बिहार युथ क्लबले टाइगर्स टिमसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
