काठमाडौं । फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले आसन्न नेपाल प्रिमियर लिग(एनपिएल)को दोस्रो संस्करणका लागि एक्सट्रिम इनर्जी ड्रिन्क्सँग प्रायोजन सम्झौता गरेको छ ।
एन्सट्रिम इनर्जी ड्रिन्क ‘ड्रिन्क’ पार्टनरका रुपमा काठमाडौंसँग जोडिएको हो । सम्झौतासँगै काठमाडौंले आफ्नो जर्सीको पछाडि एन्सट्रिम इनर्जी ड्रिन्कको लोगो लगाएर खेल्ने छ ।
आइतबार काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एन्सट्रिम इनर्जी ड्रिन्कका महाप्रवन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । दुबै पक्षले सम्झौता रकम भने खुलाएनन् ।
सम्झौतापछि सिरोहियाले प्रायोजक विना एनपिएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउँदै एन्सट्रिम इनर्जी ड्रिन्कको साथले टोलीको मनोबल बढाएको तर्क गरे ।
त्यस्तै श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमाडौं गोर्खाज हुँदै नेपाल प्रिमियर लिगको हिस्सा हुन पाउँदा खुसी लागेको बताए ।
काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रुपमा ‘वल्र्डलिङ्क’सँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरिसकेको छ ।
