काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीले इत्तिहाद रंगशालामा साबिक विजेता लिभरपुलको अतिथ्य गर्दैछ । ११औं चरणको यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।
शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटाउन दुबैका लागि यो खेल एकदमै महत्वपूर्ण छ । सिटी हाल १९ अंकका साथ तेस्रो स्थानमा छ भने लिभरपुल १८ अंकसहित छैटौं स्थानमा छ । आइतबारको जितले दुबैलाई दोस्रो स्थानमा पुर्याउनेछ ।
गत सिजन लिभरपुलले सिटीविरुद्ध दुबै लेगमा समान २–० को जित हासिल गरेको थियो । इत्तिहादमा भएको दोस्रो लेगमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाईले गोल गरेका थिए ।
पछिल्लो सात प्रिमियर लिग खेलमा कम्तिमा पनि एक गोल गरेका हालान्डले यस सिजन कूल १३ गोल गरिसकेका छन् । सिटीलाई जित्न लिभरपुलले आज स्ट्राइकर हालान्डलाई रोक्न आवश्यक छ ।
लिभरपुलले पछिल्ला पाँचमध्ये चार खेलमा पराजय बेहोरेको छ । अघिल्लो खेलमा एस्टन भिल्लामाथि २–० को जित हासिल गरेको लिभरपुलले यसै साता च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई हराएको थियो । लिभरपुल जितको यो ‘मोमेन्टम’लाई कायम राख्न चाहन्छ ।
उता सिटी आफ्नो मुख्य प्रशिक्षक पेप ग्वाड्रिओलाका लागि ‘स्पेशल गिफ्ट’ दिन चाहन्छ । किनभने लिभरपुलविरुद्धको खेल व्यावसायिक प्रशिक्षण करिअरमा ग्वाड्रिओलाको १०००औं खेल हुनेछ ।
