काठमाडौं । एफसी मिडजिल्यान्डले युइएफए युरोपा लिगमा आफ्नो विजयी यात्रलाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।
मिडजिल्यान्डले बिहीबार सेल्टीकविरुद्ध ३-० को सहज जित निकाल्यो ।
जितसँगै चार खेलमा १२ अंक जोडेको मिडजिल्यान्ड शीर्ष स्थानमा छ । पराजित सेल्टीक समान खेलबाट चार अंकका साथ २७औं स्थानमा छ ।
एमसिएच एरिनामा घरेलु टोली मिडजिल्यान्डलाई जित दिलाउन मार्टिन एर्लिक, मिकेल गोगोर्जा र फ्रानकुलिनो जेउले गोल गरे । तीन गोल पहिलो हाफमा भएका थिए ।
खेलको ३३औं मिनेटमा एर्लिकको गोलमार्फत मिडजिल्यान्डले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गोगार्जाले टोलीको अग्रता दोब्बर बनाए ।
जेउले ४१औं मिनेटमा गोल गर्दा मिडजिल्यान्डले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनायो । त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।
बिहीबारै सम्पन्न अन्य खेलमा रोमाले रेन्जरर्स, आरबी साल्जबर्गले गो अहेड एन्जल्स र स्टुटगार्टले फेयनोर्डलाई समान २-०, फ्रेइबर्गले निसलाई ३-१, तथा सेल्टा भिगोले डिनामो जाग्रेबलाई ३-० ले हराए ।
