काठमाडौं । राष्ट्रिय यु-२० टिमकी कप्तान विर्सना चौधरीसहित चार नयाँ अनुहारलाई थप्दै सिनियर महिला फुटबल टोलीको प्रारम्भिक छनोट टोली घोषणा भएको छ ।
बुधबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले भर्खरै भारतको सिलोङमा सम्पन्न त्रिदेशीय च्याम्पियनसिप खेलेको टोलीमा चार खेलाडी थप्दै प्रारम्भिक टोली तयार पारेका हुन् । नेपालले यही नोभेम्बर अन्तिम साता अर्को त्रिदेशीय च्याम्पियनसिपका लागि इन्डोनेसिया भ्रमण गर्र्दैछ । त्यसैको तयारीस्वरुप २७ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको हो ।
सेन्ट्रल मिडफिल्डर विर्सनासँगै उनकी यु–२० सहकर्मी गोलकिपर लिला जोशी, फरवार्ड अनिता लम्जेल र रक्षक नेहा कुमारी चौधरीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेहा र लिला लगातार दोस्रो पटक प्रारम्भिक टोलीमा परेका हुन् । यसअघि बन्द प्रशिक्षणमा रहेपनि यी दुई सिलोङ भ्रमण गर्ने अन्तिम टोलीमा भने अटाएका थिएनन् ।
नेपालले नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ । त्यसपछि डिसेम्बर २ मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने तालिका छ । सिंगल राउन्ड रोविन प्रतिस्पर्धापछि समूह विजेता बन्ने टोलीले त्रिदेशीय च्याम्पियनसिपको उपाधि जित्नेछ । 
