बिर्तामोड । घरेलु टोली झापा एफसीमाथि ६-० को सानदार विजयी हासिल गर्दै काठमाडौंको संकटा क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार शवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा संकटाका लागि पूर्णिमा राईले दुई तथा सेनु परियार, सुनीता भुलान, छिरिङ वांग्देन र अरुणा स्याङ्तेनले समान एक गोल गरे ।
पूर्णिमा खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
खेलपछि झापाका मुख्य प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटाका मुख्य प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।
बुधबार हुने चौथो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आरएस पोखरा एफसीको सामना गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा आठवटा टिमः त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
सोमबार उद्घाटन खेलमा पुलिसले चर्च ब्वाइजको चुनौती ८–० ले पन्छाएको थियो । मंगलबार दोस्रो क्वार्टरफाइनल खेलमा एपिएफले सिंग्लिङलाई ७-० ले हरायो ।
संकटाले कार्तिक २१ गते शुक्रबार सेमिफाइनलमा पुलिसको सामना गर्नेछ ।
