काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ फुटबल क्लबले सानदार सुरुआत गरेको छ । बुधबार उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबमाथि ४–१ को सहज जित हासिल गर्यो ।
मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न खेलमा चित्लाङलाई जित दिलाउन चन्दन कुमार दास, लहान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्ताङले गोल गरे । पहिलो हाफमा तीन गोलको अग्रता लिएको चित्लाङले दोस्रो हाफमा एक गोल थप्यो । देउरालीका लागि इन्जुरी समयमा रामचन्द्र वाजेले एक गोल फर्काए ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । सेमिफाइनल पुग्ने चारै टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
मंसिर २ सम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा विजयी स्पोर्टस क्लब र लालिगुँरास एसोसिएसन क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल आजै दिउँसो ४ः१५ बजे हुनेछ ।
