काठमाडौं । ह्यारी केनको दुई गोलको मद्दतमा मंगलबार लात्भियामाथि सजिलो ५-० को निकाल्दै इङ्ल्यान्ड आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
यो जितसँगै ६ खेलमा १८ अंक जोडेको इङ्ल्यान्ड समूह ‘के’ मा शीर्ष स्थानमा रहने निश्चित भएको छ । इङ्ल्यान्ड लगातार आठौंं तथा समग्रमा १८औं पटक विश्वकपमा छनोट भएको हो ।
डोएगाभा रंगशालामा पाहुना टोली इङ्ल्यान्डलाई जित दिलाउन एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि समान एक गोल थप्दा । अर्को एक गोल भने आत्मघाती रह्यो ।
खेलको २६औं मिनेटमा गोर्डेनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । ४४औं मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
लात्भियाका रक्षक म्याक्सिम्स टोनिसेभ्सबाट ५८औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा इङ्ल्यान्ड ४० ले अगाडि बढ्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा इजीले इङ्ल्यान्डका लागि पाँचौं गोल गरे ।
प्रशिक्षकमा थोमस टुचेल आएयता इङ्ल्यान्डले विश्वकप छनोटका आफ्ना सबै ६ खेल जितेको छ । छनोटमा दुई चरणका खेल बाँकी रहँदा नै इङ्ल्यान्ड विश्वकप पुग्ने निश्चित भएको हो ।
इङ्ल्यान्ड आगामी विश्वकपका लागि छनोट हुने पहिलो युरोपियन तथा समग्रमा २३औं राष्ट्र हो ।
यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगमी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।