काठमाडौं । नेपाली राष्ट्रिय महिला यु-१७ फुटबल टोलीका कलिला किशोरीहरु विस्तारै परिपक्व हुँदैछन् । थाइल्यान्डमा सोमबारबाट सुरु हुने एएफसी एसियन कप छनोट उनीहरुका लागि करिअरको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
यी किशोरीहरुले सानै उमेरदेखि एकेडेमीमा बसेर फुटबलको कखगघ सिक्न पाएका होइनन् । जसो तसो गाउँघरमा खुट्टा चलाएको भरमा खुला छनोटबाट छानिएर देशको प्रतिनिधित्व गर्नुपर्ने नियति स्विकार्दै अगाडि बढेका उनीहरु एसियन कप छनोटका लागि अहिले तयारी गरिरहेका छन् ।
यो तयारी उनीहरुका लागि विगतका प्रतियोगिताहरुको कमजोरी सच्याउने र फुटबल सीपलाई थप निखार्ने एउटा अवसर हो । औपचारिकताको कुरा गर्ने हो भने छनोट प्रतियोगितामा गएपछि छनोट हुनुपर्छ । तर, नेपाली टोलीको उद्धेश्य त्यतिमा मात्र सीमित छैन । औपचारिक उद्धेश्य छनोट हुने भए पनि अनौपचारिक रुपमा नेपाली टोली अझ परिपक्व हुन चाहन्छ । फुटबलको अनन्त यात्रामा निरन्तर अगाडि बढिरहन चाहन्छ ।
नेपालले आफ्नो समूहमा तुर्किमिनिस्तान र थाइल्यान्डलाई हराए अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ । छनोटको औपचारिकता यही हो । तर, नेपाली फुटबलको चाहना भनेको यी किशोरीहरुलाई भोलि गएर एउटा परिपक्व खेलाडी बनाउने हो । भोलि यिनै कलिला नानीहरुले राष्ट्रिय टोली सम्हाल्नुपर्छ । यो प्रतियोगिता त्यही यात्राको एउटा पढाव हो ।

गत अगस्टको अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न साफ च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएको दुई दिनपछि नै टोली एएफसी छनोटको तयारीमा जुटेको थियो । साफ च्याम्पियनसिपका २३ र अटाउन नसकेका केही खेलाडीलाई समेट्दै मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठको नेतृत्वमा टोली एक महिनाभन्दा बढी समय बन्द प्रशिक्षणमा बस्यो ।
अश्विन ११ गते अट्याकिङ मिडफिल्डर भूमिका बुढाथोकीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा भयो । टोलीमा भुटान भ्रमण गरेका तीन खेलाडी फेरिए । गोलकिपर भूपिका शाहीले पहिलो पटक टोलीमा स्थान बनाउँदा अट्याकिङ मिडफिल्डर आयुषा रेउले र स्ट्राइकर पूजा गिरीले पुनरागमन जनाए । आयुषा र पूजाले १९ महिनाअघि घरेलु भूमिमा सम्पन्न साफ च्याम्पियनसिप खेलेका थिए । गोलकिपर गंगा गुरुङ, सेन्ट्रल मिडफिल्डर डिकी स्याङ्बो तामाङ र स्ट्राइकर दीक्षा रानपाल भने टिमबाट बाहिरिए ।
टोली यसपाली अन्य के कुरामा फरक छ ?
‘यसपाली हामीले पर्याप्त प्रशिक्षण समय पाएका छौं । साफका लागि गरिएको तयारी देखि आजसम्म आइपुग्दा खेलाडी निखारिएका छन्,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘खेलाडीले ल्याएको निखार हामीले एएफसीमा देख्न पाउँनेछौं ।’

भुटानमा नेपालले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । तुलनात्मक रुपमा कमजोर मानिने भुटानसँग दुई लेगमा चार अंक बटुलेको नेपालले भारत र बंगलादेशसँग दुवै लेगमा पराजय बेहोरेको थियो । दोहोरो लिग प्रतिस्पर्धामा नेपालले ६ खेलमा २१ गोल सामना गरेको थियो । भारतले मात्र नेपालको पोस्टमा एक दर्जन गोल गर्यो ।
टोलीको प्रदर्शन दयनीय हुनुमा कयौं कारण थिए । पहिलो कारण, कम प्रशिक्षण समय नै हो । तीन दिनको प्रारम्भिक खुला छनोट अनि तीन साताको बन्द प्रशिक्षण, टोलीको तयारी त्यतिमै सीमित थियो । थोरै प्रशिक्षण समयका बावजुद टोली भुटानमा सकारात्मक नतिजा ल्याउन सक्नेमा आशावादी थियो । तर, मैदानमा अवस्था फरक थियो ।
भुटानमा दिन बिराएर खेल्नुपर्ने तालिकाले खेलाडीलाई गाह्रो बनाएको थियो । तर, पहिलो रोजाईमा खेलेका खेलाडीलाई प्रतिस्थापन गर्न बेन्चमा बलियो विकल्प नुहुनु त्योभन्दा पनि बढी चिन्ताको विषय थियो । यसबाहेक गोलकिपरको अपरिपक्वता टोलीका लागि महँगो साबित भयो ।
१८ महिनाअघि घरेलु भूमिमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा नेपालको गोलपोष्ट झरना डुम्राकोटीले सम्हालेकी थिइन् । भुटानमा भने लक्ष्मी ओलीले पाँच खेलमा पहिलो रोजाईबाट खेलिन् । थाइल्यान्डमा पहिलो रोजाईको गोलकिपर को त ?

‘झरना र लक्ष्मी दुवैको कडा प्रतिस्पर्धा छ । को गएर पहिलो रोजाईमा खेल्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ सहायक प्रशिक्षक प्रकाश वैद्य भन्छन्, ‘अन्य पोजिसनका खेलाडीको सेटअप भइसकेको छ । गोलकिपरको हकमा गाह्रो छ ।’
भुटानमा टोली आशिका कार्कीको ‘भर्सटाइल’ गुणमा पूर्ण रूपमा निर्भर थियो । दुवै खुट्टा एकनासले चलाउन सक्ने खुबी भएकी आशिकालाई सुरु सुरुमा लेफ्टब्याक पोजिसनमा प्रयोग गरिएको थियो । पछि टिमको आवश्यकताअनुसार आशिकालाई सेन्टरब्याक पोजिसनमा खेलाइयो । यसपाली टोलीसँग कुनै एक खेलाडीमाथि मात्र निर्भर हुनु नपर्ने कारण छ ?
‘यसपाली हामीले पोजिसन परिवर्तन गरेर खेलाडीलाई प्रयोग गरेका छौं । विंगरहरुलाई स्ट्राइकरको पोजिसनमा खेलाउने प्रयास गरेका छौं । डिफेन्सलाई मिडफिल्डमा झारेका छौं । त्यस्तो समस्या आउँदैन । खेलाडीको विकल्प पर्याप्त छ,’ श्रेष्ठ दाबी गर्छन् ।
नेपालले साफ च्याम्पियनसिपमा जम्मा ४ गोल गरेको थियो । सबै गोल मिडफिल्डरबाट सम्भव भएका थिए । सेन्ट्रल मिडफिल्डर सहारा लिम्बूले भुटानविरुद्ध दुई गोल गरेकी थिइन् । सहारासँगै अट्याकिङ मिडफिल्डरद्वय कप्तान भूमिका बुढाथोकी र बब्तिका कार्कीले ‘स्कोरसिट’मा आफ्नो नाम लेखाए । प्रतियोगितामा चार स्ट्राइकर प्रयोग गरिएको थियो । कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भएको थियो ।

यसपाली सबै पोजिसनमा सुधार आएको र गोलका लागि संघर्ष गर्नुनपर्ने उप–कप्तान सहारा लिम्बु बताउँछिन् ।
‘भुटानमा मिडफिल्ड र स्ट्राइकरको तालमेल मिलेको थिएन । भुटानमा गरेका गल्तीलाई सुधारेका छौं । स्ट्राइकिङ लाइन बलियो छ । अन्य सबै पोजिसनमा पनि हामीले सुधार ल्याएका छौं,’ सहारा विश्वस्त छिन् ।
आलोचना खेलाडी जीवनको अपरिहार्य हिस्सा हो । यी कलिला किशोरीहरुले नेपाली समर्थकहरुको आलोचना पछिल्ला दुई प्रतियोगितामा खुलेरै सामना गरिसकेका छन् । तर, हरेक असफलताले एउटा पाठ बोकेको हुन्छ । त्यही पाठले मानिसको जीवनमा बल दिने काम गरिरहेको हुन्छ ।
अहिले यी किशोरीहरु बुद्धिमानी हुन आवश्यक छ । एकताबद्ध हुन आवश्यक छ । आज प्रश्न उठ्न सक्छ, तर भोलि यी किशोरीहरु नै नेपाली महिला फुटबलमा फेरि विश्वासको आधार बन्नेछन् ।
बुधबार किशोरीहरु फेरि एक पटक रातो÷निलो रंगको जर्सी लगाउँदैछन् । उनीहरु समर्थकका लागि मात्र खेलिरहेका हुने छैनन् । स्वयम आफूलाई प्रमाणित गर्नुपर्ने परिस्थिती जो छ, उनीहरुसँग । देशका लागि मैदानमा डटिरहँदा कति टाढा आइपुगेछु भन्ने बुझ्दैछन् । र कति टाढा जान सकिनेछ भन्ने बुझ्नेछन् ।
पूरा राष्ट्रले खेल हेरिरहेको हुनेछ । यसपाली सुखद नतिजाको अपेक्षाका साथ होइन, बलियो आशाका साथ ।